पिएम कप भलिबल

पिएमः उद्घाटन खेलमा पुलिस र आर्मी खेल्ने

काठमाडौं । प्रधानमन्त्री (पिएम) कप महिला भलिबल प्रतियोगिताको उद्घाटन खेलमा बिहीबार पुलिस क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा गर्नेछन् ।  

बाँके जिल्ला भलिबल संघको आयोजना हुने दोस्रो खेलमा न्यु डायमन्ड आयोजक टिम लुम्बिनीबीच खेल हुनेछ । दुवै खेल दिउँसो १२ बजेपछि सुरु हुने आयोजकले जानकारी दिएको छ ।

नेपालगञ्जस्थित कभर्डहलमा हुने प्रतियोगितामा दुई भारतीय टोलीसहित ६ नेपाली टोलीको सहभागी छ । जसमा नेपाल पुलिस क्लब, त्रिभुवन आर्मी क्लब, न्यु डायमन्ड स्पोट्र्स क्लब, आयोजक लुम्बिनी युनाइटेड, भारतको छत्तीसगढ स्पोट्र्स एकेडेमी (महाराष्ट्र) र हरियाना स्पोट्र्स क्लब छन् ।

लिगकम नकआउटमा खेलाइने प्रतियोगिताको साविक विजेता सशस्त्र प्रहरी बलको एपिएफ क्लब यसपटक सहभागी छैन । लामो समयदेखि चोटका कारण आराममा रहेकी एपिएफकी मुख्य खेलाडी सरस्वती चौधरी नभएपछि क्लबले सहभागिता नजनाउने जानकारी दिएको हो ।

पिएम कपको विजेताले पाँच लाख र उपविजेताले दुई लाख ५० हजार रुपैंया प्राप्त गर्नेछन् ।