नेपाली फुटबल

१४ वर्षपछि थाइल्यान्डसँग खेल्दै नेपाल

चोनबुरी । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलअन्तर्गत नेपालले फिफा वरीयतामा आफूभन्दा निकै माथि रहेको थाइल्यान्डविरुद्ध  १४ वर्षपछि खेल्दैछ । नेपालले पछिल्लो पटक सन् २००८ मा थाइल्यान्डविरुद्ध खेलेको थियो । उक्त खेलमा नेपाल ७-० ले पराजित भएकाे थियाे ।

थाइल्यान्डको चोनबुरीमा हुने खेल नेपाली समयअनुसार साँझ ५ः४५ बजेबाट सुरु हुनेछ । दुबै टोलीले एएफसी एसिया कपअन्तर्गत तेस्रो चरणको तयारीका लागि मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् ।

नेपालले यसअघि थाइल्यान्डविरुद्ध तीन पटक प्रतिस्पर्धा गरेको छ । जहाँ नेपालले तीनै खेलमा हार बेहोरेको थियो । नेपालले सन् १९८२ मा पहिलाे पटक थाइल्यान्डविरुद्ध खेलेकाे थियाे ।

नेपालले हालसम्म थाइल्यान्डविरुद्ध एक गोल गर्दा १२ गोल खाएको छ ।

फिफा वरीयतामा थाइल्यान्ड नेपालभन्दा ५५ स्थाम माथि छ । थाइल्यान्ड वरीयताको एक सय १२औं स्थानमा छ भने नेपाल एक सय ६७औं स्थानमा छ ।

थाइल्यान्डविरुद्धको खेलअघि बोल्दै नेपालका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले यो मैत्रीपूर्ण खेल एएफसी एसियन कपको तेस्रो चरणको छनोटका लागि महत्वपूर्ण हुने बताएका थिए ।

यस्तै, नेपालका कप्तान किरण चेम्जोङले पनि यो खेलमा देखिएका कमजोरीहरु एसियन कप छनोटमा सुधार्ने बताएका थिए ।

यो अलमुताइरीले मुख्य प्रशिक्षण सम्हालेयता नेपालले खेल्न लागेको १५औं खेल हो ।

नेपाली टिमः

गोलरक्षकः किरण कुमार लिम्बू (कप्तान) टिकेन्द्र सिंह, दीप कार्की

रक्षकः रोहित चन्द, अनन्त तामाङ, नविन गुरुङ, दिनेश राजबंशी, गौतम श्रेष्ठ, पुजन उपरकोटी, सुमन अर्याल, सुदिप गुरुङ, सुरजजिउ ठकुरी

मिडफिल्डरः आयुष घलान, एरिक विष्ट, नितिन थापा, सन्तोष तामाङ, आकाश बुढा मगर, सुमन लामा, तेज तामाङ, सुमन लामा, सुभाष गुरुङ

स्ट्राइकरः आशिष लामा, प्रशान्त अवस्थी, अन्जन विष्ट, दर्शन गुरुङ