एक्सेल्सियर कप

एक्सेल्सियर कपः एक्सेल्सियर र काष्ठमण्डप क्वार्टरफाइनलमा

काठमाडौं । आयोजक द एक्सेल्सियर स्कुल ‘नीलो’ र काष्ठमण्डप १० औं एक्सेल्सियर कपअन्तर्गत सिनियर गर्ल्स बास्केटबलमा बिहीबार क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

स्वयम्भूस्थित घरेलु कोर्टमा एक्सेल्सियर ‘नीलो’ ले संस्कृतिलाई २१-१२ ले पराजित गर्यो । विजेताकी अकिना घिमिरेले १२ अंक जोडिन् । काष्ठमण्डपले एक्सेल्सियर ‘रातो’ लाई १७-२ ले हरायो । विजयी टोलीका लागि रिया राईले ६ स्कोर गरिन् ।

सिनियर गर्ल्समै न्यु जेनिथले ल्यान्डमार्कमाथि २०-११ को जित दर्ता गर्दै क्वार्टरफाइनलमा स्थान सुरक्षित गर्यो । न्यु जेनिथकी राइसाले ८ अंक बटुलिन् ।

सिनियर ब्वाइजमा ग्रिनफिल्डले होली भिजनलाई ४२-२४, पुष्पसदनले टिआइएलाई ५३-३२ र जेनिथले एक्सेल्सियरलाई ४१-१८ ले हराउँदै क्वार्टरफाइनलमा स्थान पक्का गरे । ग्रिनफिल्डका अर्जुन बस्नेतले १८, पुष्पसदनका कृष ओलीले १३ र जेनिथका सागर श्रेष्ठले २० स्कोर गरे ।

ब्वाइज फुटसल


द एक्सेल्सियर कपअन्तर्गत ब्वाइज फुटसलको यु-१३ मा एलआरआइले एक्सेल्सियरलाई ३-०, एक्सेल्सियर ‘नीलो’ ले जोन डेवीलाई २-० र बोधीसत्वलाई १-०, द चाँदबागले जोन डेवीलाई २-० तथा सेक्रेड हार्टले राई स्कुललाई २-० ले पराजित गरे ।

यु-१२ मा एलआरआइले स्वस्तिश्री गुरुकुललाई २-०, एक्सेल्सियर ‘नीलो’ ले जोन डेवीलाई २-१, मोर्डन इन्दियन स्कुलले न्यु जेनिथलाई १-०, बृहस्पति विद्या सदनले एक्सेल्सियर ‘पहेलो’ लाई २-०, चाँदबागले राई स्कुललाई २-० र रिब्सले एक्सेल्सियर ‘पहेलो’ लाई २-० ले हराए ।