मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिता

जय बागेश्वरी, सेन्ट थोमस, नेपालगन्ज मोडेल र ड्रिमल्यान्ड क्वार्टरफाइनलमा

म्यान अफ दी म्याच ड्रिमल्यान्डका विवश न्यौपाने (दायाँबाट दोस्रो) महिला उद्यमी संघ नेपाल बाँकेको प्रथम उपाध्यक्ष एवम् जिल्ला खेलकुद विकास समिति बाँकेका सदस्य रेवती सिंहबाट पुरस्कार ग्रहण गर्दै

नेपालगन्ज । जय बागेश्वरी स्कुल, सेन्ट थोमस, नेपालगन्ज मोडेल एकेडेमी र ड्रिमल्यान्ड स्कुल नेपालगन्जमा जारी मेयर कप अन्तर विद्यालय छात्र–छात्रा फुटबल प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् ।

नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १ स्थित एन्फा ग्रासरुट फुटबल स्पोर्टस एकेडेमीमा भएको खेलमा जय बागेश्वरीले बागेश्वरी एकेडेमी कोहलपुरलाई २-० ले हरायो । खेलमा म्यान अफ दी म्याच पुरस्कार जित्न सफल जय बागेश्वरीका पुष्कर साउदले ३४ र ५३औं मिनेटमा गोल गरे ।

बिहीबारकै दोस्रो खेलमा सेन्ट थोमसले ग्रीनपिस मावी कोहलपुरलाई २-० को नतिजामा हरायो । सेन्ट थोमसको जितमा म्यान अफ दी म्याच मनिष डाँगीले ४३ र ४८औं मिनेटमा गरि दुई गोल गरेका थिए ।

बिहीबारै तेस्रो खेलमा नेपालगन्ज मोडेल एकेडेमीले मोडर्न पब्लिक स्कुललाई ३-२ ले पराजित गर्यो । नेपालगन्ज मोडेल एकेडेमीको जितमा विनोद शाहीले ३० र ६०औं मिनेटमा दुई तथा रुपेश बोहराले ४५औं मिनेटमा गोल गरेका थिए । पराजित मोडर्न पब्लिक स्कुलका लागि विमल ओलीले २९ तथा विवेक बिष्टले ५७औं मिनेटमा गोल गरे पनि जित दिलाउन सकेनन् ।

खेलमा निर्णायक गोल गरेका नेपालगन्ज मोडेल एकेडेमीका विनोद शाही म्यान अफ दी म्याच घोषित भए ।

दिनको चौथो खेलमा ड्रिमल्यान्डले लक्ष्मी मावी बर्दहवालाई ३-० ले हरायो । ड्रिमल्यान्डको जितमा म्यान अफ दी म्याच विवश न्यौपानेले २२औं र ५३औं मिनेटमा दुई गोल गरे भने अमृत रोकाले ४२औं मिनेटमा गोल गरे ।

प्रतियोगितामा शुक्रबार तीन खेल हुनेछन् । शुक्रबारको पहिलो खेलमा राम जानकी मावी र सुर्योदय मावी चिसापानी (बिहान ११ः३० बजे)बीच प्रतिस्पर्धा हुनेछ । दोस्रो खेलमा नेपालगन्ज सेन्ट जेभियर्स र आदर्श मावी खजुरा (दिउँसो १ः०० बजे) आमनेसामने हुनेछन् । यसैगरी शुक्रबारको अन्तिम खेलमा आदर्श मावी र बाल विद्या मन्दिर(दिउँसो २ः३० बजे) बीच प्रतिस्पर्धा हुनेछ ।

बाँके जिल्ला फुटबल संघको आयोजना र नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा जारी प्रतियोगितामा २८ छात्र टिमको सहभागिता छ । प्रतियोगिताको फाइनल माघ २४ गते हुनेछ ।