अक्षरा कप अन्तरविद्यालय बास्केटबल

अन्तरविद्यालय बास्केटबलः भ्याली पब्लिकको दोहोरो जित

अक्षरा कप बास्केटबलको उद्घाटन

काठमाडौं । भ्याली पब्लिकले प्रथम अक्षरा कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको पहिलो दिन मंगलबार दोहोरो जित हात पारेको छ । भ्याली पब्लिकको सिनियर ब्वाइज/ गर्ल्स दुवै टोलीले विजयी सुरुआत गरे ।

काँडाघारीस्थित आयोजक अक्षरा स्कुलको कोर्टमा भएको ब्वाइजको प्रतिस्पर्धामा भ्याली पब्लिकले अक्षरालाई ३६-९ ले पराजित गर्यो । भ्याली पब्लिकका पासाङ शेर्पाले १४ अंक जोडे । सिनियर गर्ल्समा पनि भ्याली पब्लिकले अक्षरालाई ३३-७ ले हरायो । भ्याली पब्लिककी प्रकृति खड्काले आठ स्कोर गरिन् ।

सिनियर गर्ल्सकै अर्को खेलमा शिक्षालयले ब्रम्हकुञ्जलाई ५–३ ले स्तब्ध बनायो । शिक्षालयकी जस्मिन गज्मेरले चार अंक जोडिन् ।

सिनियर ब्वाइजमा कान्जिरोवाले प्रारम्भलाई ४०-२८ तथा शिक्षालयले न्यु स्टार पोललाई ३२–१४ ले हराए । कान्जिरोवाका प्रवोशले १० तथा शिक्षालयका कमल श्रेष्ठले १२ अंक बटुले ।

प्रतियोगिताको डा. राजु अधिकारीले एक कार्यक्रमबीच निर्णायकलाई बल हस्तान्तरण गरी उद्घाटन गरे । सो अवसरमा अक्षराकी कार्यकारी निर्देशक अन्जु भट्टराई, प्रिन्सिपल मिलन केसी लोप्चन, शैक्षिक निर्देशक विष्णु पनेरुलगायतको उपस्थिति  थियो ।

 प्रतियोगितामा सिनियर ब्वाइज/गर्ल्स समान १६ तथा मिक्स जुनियरमा १२ टोली सहभागी छन् । मिक्स जुनियरमा सहभागी टिमले कम्तिमा दुई गर्ल्स खेलाडीलाई अनिवार्य समावेश गर्नु पर्नेछ ।