पारा ओलम्पिक टोलीलाई केल्मीको प्रयोजन

 काठमाडौं, साउन २० (नागरिक)– पारा ओलम्पिक २०२० मा सहभागी हुने नेपाली पारा तेक्वान्दो टोलीलाई केल्मीले प्रायोजन गर्ने भएको छ ।

जापानको टोकियोमा २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्म आयोजना हुने पारा ओलम्पिक २०२० मा नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवद्र्धनले प्रतिस्पर्धा गर्दै छिन् । उनले के ४४ अन्तर्गत ५८ केजी तौलसमूहमुनि प्रतिस्पर्धा गर्नेछिन् ।

पलेशासहित पारा ओलम्पिकमा सहभागी हुने नेपाली टोलीलाई केल्मीले खेलसामग्री प्रायोजन गरेको हो । सम्झौताअनुसार पलेशाका साथमा टोकियो जाने प्रशिक्षक कविराज नेगी लामा, सेफ दी मिसन सरोज श्रेष्ठ र  डाक्टर दीपक श्रेष्ठलाई पाराओलम्पिक अवधिभर प्रयोग हुने सामग्री केल्मीले उपलब्ध गराउनेछ । 

नेपालका लागि केल्मीको आधिकारिक विक्रेता कामरु ट्रेडिङ प्रालिका प्रबन्ध निर्देशक प्रदीप न्यौपाने र नेपाल पारालम्पिक कमिटीका सचिव विश्वास बस्नेतले प्रायोजन सम्झौतामा हस्ताक्षर गरे ।

केल्मीले पारा ओलम्पिकलाई ४ वर्षका लागि प्रायोजन गरेको हो । पारा ओलम्पिकअन्तर्गत नेपालले जनाउने सबै अन्तर्राष्ट्रिय सहभागितामा केल्मीको खेलपोसाक प्रयोग गर्नेछन् । जापानमा जारी ओलम्पिकका लागि पनि केल्मीले नेपाली टोलीलाई खेलसामग्री प्रायोजन गरेको थियो ।