पारसले नै व्यक्त गरे व्यवस्थापनको चाहना

काठमाडौं, साउन २० (नागरिक) –  दुई वर्षअघि पारस खड्काले जसरी राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट राजीनामा दिएका थिए त्यस्तै शैलीको रह्यो मंगलबार पारसको अन्तर्राष्ट्रिय क्रिकेट यात्रामा पूर्णविराम लगाउने निर्णय ।

सामाजिक सन्जालमार्फत संन्यास घोषणा गरेको एक दिनपछि बुधबार पत्रकार सम्मेलनमा उपस्थित भएका पारसले खेलाडीका रूपमा क्रिकेट यात्रामा पूर्ण विराम लगाए पनि व्यवस्थापकको भूमिकामा नेपाली क्रिकेटसँग जोडिरहने योजना रहेको बताए । नेपाली क्रिकेटसँग नटाढिएको भन्दै पारसले छिट्टै क्रिकेट एकेडेमी सुरुआत गर्ने बताए ।

पारस आफूले अहिलेसम्म प्यासकै लागि क्रिकेट खेले पनि अब मात्र क्रिकेट करियर सुरुआत गर्न लागेको बताए ।

‘एउटा खेलाडीको रूपमा मैले जेजति गर्नुपर्ने हो, त्यो सबै गरेँ,’ पारसले भने, ‘मैले आफूलाई नेपाली क्रिकेटमा कुनै न कुनै रोलमा देखेको छु ।  मेरो क्रिकेट व्यवस्थापनमा आउने चाहना छ ।’ 

पारसको संन्यासपछि धेरैले यो निर्णयलाई अप्रत्याशित भएको प्रतिक्रिया दिँदा पारसले भने सोचविचार गरेरै लिएको निर्णय लिएको बताए । 

‘मैले दुई वर्षअघि कप्तानी छोड्दा नै अन्तर्राष्ट्रिय क्रिकेट खेलजीवनमा पूर्णविराम लगाउने बारे सोचेको थिएँ,’ पारसले थपे, ‘म खेलाडीका रूपमा बिदा भए पनि म क्रिकेटको व्यवस्थापनमा आउनुपर्छ भन्ने धेरैको मत छ । तर यो म एक्लैले मात्र गर्न सक्ने काम होइन । यसका लागि टिम चाहिन्छ । व्यवस्थापनमा आउन चुनावी प्रक्रियाबाट आउनुपर्छ । जिल्ला र प्रदेश हँुदै केन्द्रसम्मको यात्रा पक्कै सहज भने छैन ।’

त्यस्तै पारसले आफ्नो जीवनकालमै नेपालले टेस्ट मान्यता पाएको हेर्न चाहेको बताएका छन् । 

‘हामीले सीमित स्रोत, साधन र पूर्वाधारका बावजुद पनि सबेैको मिहिनेतमा एकदिवसीय मान्यता प्राप्त गर्‍यो,’ पारसले भने, ‘मेरो जीवनकालमै म नेपालले टेस्ट क्रिकेट खेलेको हेर्न चाहन्छु । नेपालले सन् २००५ मै एकदिवसीय मान्यता प्राप्त गरिसकेको भए आजसम्म हामीले टेस्ट मान्यतासमेत पाइसकेका हुन्थ्यौं होला ।’

खड्काले नेपाली क्रिकेटलाई अहिलेको अवस्थामा पुर्‍याएको योगदानका लागि सबैले मुक्तकण्ठले प्रशंसा गरिरहँदा अब क्रिकेट अगाडि बढ्न सक्छ सक्दैन भन्ने प्रश्न धेरैमा उब्जिएको छ । जुन जिज्ञासाको बुधबारको भेटघाट कार्यक्रममा खड्का आफंैले उत्तर दिए ।

‘अहिले राष्ट्रिय क्रिकेट टोलीमा धेरै युवा खेलाडी आएका छन् र उनीहरूले धेरै सम्भावना बोकेका छन्,’ पारसले भने,  ‘व्यक्तिभन्दा पनि टिमको प्रदर्शनले अर्थ राख्छ । आज नेपाली क्रिकेट जुन स्थानमा छ, त्यसमा पारस एक्लैको मात्र भूमिका छ भन्ने होइन । यसमा मभन्दा अग्रज खेलाडी र अहिलेका खेलाडीको भूमिका पनि अहम् छ ।’

पारसले संन्यासपछि आफूले राष्ट्रिय क्रिकेट टोलीभित्रको वातावरण मिस गर्ने बताए ।

‘टोलीको एउटै लक्ष्य नेपाललाई जिताउनु नै हुन्थ्यो,’ पारसले भने, ‘सबैले अनफिल्ड मात्र हेर्नुहुन्छ तर अफफिल्डमा पनि धेरै पक्ष हुन्छन् । त्यही पक्षलाई मैले धेरै मिस गर्नेछु ।’

‘एउटा खेलाडीका रूपमा मैले जेजति गर्नुपर्ने हो, त्यो सबै गरँे । मैले आफूलाई नेपाली क्रिकेटमा कुनै न कुनै रोलमा देखेको छु ।  मेरो क्रिकेट व्यवस्थापनमा आउने चाहना छ ।’