त्रिकोणात्मक शृंखलाका लागि टोली घोषणा, गुल्सन पहिलो पटक समावेश

काठमाडौं, साउन २० (नागरिक) – नेपाल क्रिकेट संघ (क्यान) ले ओमानमा हुने त्रिकोणात्मक शृंखलाका लागि २० सदस्यीय प्रारम्भिक नेपाली क्रिकेट टोली बुधबार सार्वजनिक गरेको छ ।

ओमानमा हुने नेपाल, अमेरिका र घरेलु टोलीबीचको त्रिकोणात्मक शृंखलाका लागि क्यानले प्रारम्भिक टोली घोषणा गरेको हो । यद्यपि, उक्त प्रारम्भिक टोलीले मंगलबारबाटै नै प्रशिक्षण थालिसकेको छ ।

आइसिसी विश्व कप लिग–२ अन्तर्गतको त्रिकोणात्मक शृंखला आगामी सेप्टेम्बर १० देखि १२ तारिखका बीच सुरु हुने सम्भावना छ । यद्यपि, कोरोना महामारीका कारण अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) ले मिति भने तय गरिसकेको छैन । शृंखलामा समावेश टोलीले यसअघि नै तयारी थालेकाले नेपालले पनि आफ्नो तयारी सुरु गरेको छ । 

नेपाली टोलीका प्रशिक्षक डेभ ह्वाटमोर पनि दुई–तीन हप्ताअगाडि नै श्रीलंकाबाट नेपाल आइसकेका छन् । पहिलो दिन मंगलबार अभ्यास सुरु हुँदा सन्दीप लामिछानेलगायत केही खेलाडी आएका थिएनन् । क्यानले मंगलबारबाट प्रशिक्षण सुरु गरे पनि प्रारम्भिक टोली भने बुधबार मात्र सार्वजनिक गरेको हो । पहिलो पटक उदीयमान तीव्र गतिका बलर गुलसन झाले नेपाली टोलीमा स्थान बनाउँदा मंगलबार नै अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका पारस खड्काको नाम पनि समावेश छ ।

क्यानले त्यसअघि टोलीको छनोट गरेको र पारसले मंगलबार बिहान मात्र इमेलमार्फत संन्यासबारे क्यानलाई जानकारी गराएको हुनाले २० सदस्यीय प्रारम्भिक टोलीमा उनको नाम समावेश भएको हो । यद्यपि, पारसको स्थानमा अर्को खेलाडी राख्नेबारे भने निर्णय भइसकेको छैन । ‘अहिले नै पारसको स्थानमा को राख्ने भन्नेबारे निर्णय भएको छैन । त्यो प्रशिक्षण टोलीको जिम्मेवारीको कुरा हो,’ क्यानका सचिव अशोकनाथ प्याकुरेलले भने, ‘यदि अर्को खेलाडी आवश्यक परेमा त्यो सुविधा प्रदान गर्नेछौं ।’ सचिव प्याकुरेलले आइसिसीको नियमअनुसार १५–१६ खेलाडी रहने भए पनि महामारीका कारण केही खेलाडी थपिने जानकारी गराए ।

‘यो प्रारम्भिक टोली हो । आइसिसीको नियमअनुसार १५–१६ जना मात्र रहन्छन् । तर महामारीका कारण केही अतिरिक्त खेलाडीसहितको टोली घोषणा गर्नेछौं,’ उनले भने । नेपालको मौसम ठीक नभएकाले ओमानमा नै केही अभ्यास खेल खेल्ने गरी नेपाली टोली त्यसतर्फ प्रस्थान गर्ने योजनामा छ । ‘हामी करिब दुई हप्ताअगाडि नै टोलीलाई पठाउने योजनामा छौं । उनीहरूलाई अभ्यास खेलका लागि यहाँको मौसम पनि एकनासका छैन,’ क्यानका सचिव प्याकुरेलले भने, ‘त्यहाँ टोलीले केही एक्सपोजर पाउनेछ । त्यसैले योजना बनाएका छौं ।’

प्रारम्भिक टोलीमा पवन सर्राफ, विक्रम सोब र शाहब आलमले पनि स्थान बनाएका छन् । यसअघि घरेलु मैदानमा नेदरल्यान्ड र मलेसियाविरुद्ध सम्पन्न त्रिकोणात्मक ट्वान्टी–२० शृंखलामा उत्कृष्ट प्रदर्शन गरेका ओपनरद्वय कुशल भुर्तेल र आसिफ शेख पनि प्रारम्भिक टोलीमा छन् ।

प्रारम्भिक टोलीका अन्य सदस्यमा ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरी, आरिफ शेख, कुशल मल्ल, विनोद भण्डारी, करन केसी, सन्दीप लामिछाने, सोमपाल कामी, कमलसिंह ऐरी, अविनाश बोहरा, सुशन भारी, शरद् भेषावकर र रोहित पौडेल छन् । 

गुलसनको इन्ट्री

नेपाल पुलिस क्लबबाट खेल्दै आएका दायाँहाते तीव्र गतिका बलर झाले केही समयअघि सम्पन्न काठमाडौं मेयर्स कपमा केही यागदार प्रदर्शनका गरेका थिए । जसका कारण उनको राष्ट्रिय टोलीबाट खेल्ने बाटो खुलेको छ । प्रतियोगितामा उनले दुईवटा मात्र खेल खेले पनि राम्रो प्रभाव छाडेका थिए ।

सशस्त्र प्रहरी बल (एपिएफ) विरुद्ध फाइनलमा उनले ३६ रन खर्चेर चार विकेट लिएका थिए । यसअघि असारमा घोषणा गरिएको नेपाली टोलीमा रहेका पृथु बास्कोटा र सन्दीप जोरालाई भने क्यानले बाहिर राखेको छ । उनीहरूको स्थानमा रोहित पौडेल र गुलसन झा परेका हुन् । 

नेपालको मौसम ठीक नभएकाले ओमानमा नै केही अभ्यास खेल खेल्ने गरी नेपाली टोली त्यसतर्फ प्रस्थान गर्ने योजनामा छ ।