रहेनन् कुस्तीका भिष्‍म पितामह

काठमाडौं, (खेलाडी)- कुस्तीका पूर्व प्रमूख प्रशिक्षक एवं राष्ट्रिय खेलकुद परिषद (राखेप)को तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक विद्यासागर पोखरेलको शुक्रबार विहान काठमाण्डौमा निधन भएको छ । 

पोखरेलको हृदयघातका कारण  निधन भएको राखेप तालिम तथा प्रशिक्षण विभागका पूर्व उपनिर्देशक व्रिजेन्द्र हमालले जानकारी गराए । पोखरेललाई विहान खाना खाइरहेको अवस्थामा छातीमा दुखाई महसुस भएको र त्यसको केही समयमानै निधन भएको पारिवारीक श्रोतलाई उद्धरित  गर्दै राखेपले जनाएको छ। 

फुटबलका खेलाडीको रुपमा खेल जिवनलाई अगाडी बढाएका पोखरेलले १९८८ मा भारतको पटियालाबाट कुस्ती प्रशिक्षकको प्रशिक्षण गरेका थिए । त्यसपश्‍चात कुस्ती प्रशिक्षककै रुपमा उनले राखेपमा जागिरे जीवनको सुरुआत गरेका थिए । उनी उमेर हदका कारण परिषदबाट सेवा निवृत्त भएका थिए । 

नेपाली कुस्तीका भिष्म पितामह मानिने पोखरेलकै प्रशिक्षणमा नेपालमा धेरै कुस्ती खेलाडीहरु उत्पादन भएका थिए । उनले १९३३ का बंगलादेशको ढाकाबाट अन्तराष्ट्रिय निर्णायकको परिक्षा उत्तीर्ण गरेका थिए । पोखरेलले कुस्ती खेलको विकास र विस्तारका क्रममा अनवरतरुपमा २६ वर्ष देखि कुस्ती संघको महासचिवका हैसियतले काम गर्दै आइरहेका थिए ।

२०१५ साल कार्तिक १५ गते जन्मिएका पोखरेल गोरखा दक्षिण बाहु चौथो बाट विभुषित थिए । उनका दुई श्रीमती, दुई छोरा र दुई छोरी रहेको हमालले जानकारी गराए ।