सन्दिप लामिछाने

पीडितको जन्मदर्ता झिकाउन उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले क्रिकेटर सन्दिप लामिछानेविरुद्धको बलात्कार मुद्दामा पीडित गौशाला २६ को जन्मदर्ता सम्बन्धी कागजात झिकाउने आदेश गरेको छ ।

न्यायाधीशहरू मुनेन्द्रप्रसाद अवस्थी र दुर्गाप्रसाद ढुंगेलको इजलासले जन्मदर्ता रहेको स्थानीय तहको वडा कार्यालयबाट पीडितले जन्मदर्ताको कागजात बनाउँदा पेश गरेको निवेदनको सक्कल प्रति झिकाउन आदेश गरेको हो ।

उच्च अदालतले जन्मदर्ताको प्रमाणपत्र पनि पेश गर्न आदेश दिएको छ ।

गएको पुस १३ गते जिल्ला अदालत काठमाडौंका न्यायाधीश शिशिर ढकालको इजालसले बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गरेको थियो। पुस २५ गते सोही इजलासले उनलाई ८ वर्ष कैद सजाय, ३ लाख रुपैयाँ जरिवाना र पीडितलाई २ लाख रुपैयाँ क्षतिपूर्ति भराउन पनि आदेश गरेको थियो। 
जिल्ला अदालले गौशाला २६ नाबालिग नरहेको भनेको थियो।

जिल्ला अदालतको सो फैसला नमिलेको भन्दै उच्च सरकारी वकिल कार्यालयले उच्च अदालत पाटनमा पुनरावेदन दिएको थियो।

त्यसअघि सन्दीपले जिल्ला अदालतले आफूलाई बलात्कार मुद्दामा दोषी ठहर गरेको फैसलाविरुद्ध उच्च अदालतमा पुनरावेदन दिएका थिए। त्यसपछि उनले थुना बाहिर बसेर पुनरावेदन गर्ने सुविधा पाएका थिए।