राष्ट्रिय खेलकुद परिषद्

पदक विजेतालाई सदस्यसचिव घिसिङको बधाइ

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले भारतको दिल्लीमा सम्पन्न तेस्रो वाको इन्डियन ओपन किक बक्सिङ प्रतियोगिताका पदक विजेतालाई मंगलबार बधाइ दिएका छन् ।

सदस्यसचिव घिसिङले त्रिपुरेश्वरस्थित राखेपको सभाकक्षामा खेलाडीसहितको टोलीलाई स्वागत गर्नुका साथै सफलताका लागि बधाइ दिए ।

फेब्रुअरी ६ देखि ११ सम्म भएको प्रतियोगितामा नेपालले एक स्वर्ण र तीन कांस्य गरी चार पदक जितेको थियो । पुरुष ६० केजीमा पुकार श्रेष्ठले स्वर्ण तथा जुनियर ५७ केजीमा सुमितशरण तामाङ, सिनियर ५७ केजीमा रोशन अछामी र ८६ केजीमा साजन थिङ तामाङले कांस्य पदक जिते ।

टोलीको प्रशिक्षकमा दिवान्स श्रेष्ठ, व्यवस्थापकमा सिमोन उप्रेती र निर्णायकमा विन्दा नेपाली थिए ।