राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिप

राष्ट्रिय बुद्धिचालः रुपेश र सुजना अपराजित रहँदै च्याम्पियन

बैशाख । खुलातर्फ फिडे मास्टर रुपेश जयसवाल र महिलातर्फ वुमन्स फिडे मास्टर सुजना लोहनी राष्ट्रिय बुद्धिचाल च्याम्पियनसिपमा अपराजित रहँदै च्याम्पियन बनेका छन् ।

यसअघि नै विजेता बन्ने निश्चित भइसकेका दुवैले नवौं चरणमा आइतबार आआफ्नो खेल जिते । 

नेपाल बुद्धिचाल महासंघ र लुम्बिनी इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा भएको प्रतियोगिताको अन्तिम दिन नवौं चरणको खेलमा रुपेशले राजन सुवेदीलाई हराउँदा सुजनाले सिन्दिरा जोशीलाई पराजित गरिन् । ८ जित र एक बराबरीको नतिजासहित दुवैले साढे ८ अंक जोडेका हुन् ।

समान साढे ६ अंकसहित पूर्व नेपाल च्याम्पियन सुरवीर लामा र फिडेमास्टर क्षितिज भण्डारी क्रमसः दोस्रो र तेस्रो स्थानमा रहे । विजेता रुपेशले २५ हजार तथा दोस्रो र तेस्रो भएका सुरवीर र क्षितिजले क्रमसः १५ र १० हजार रुपैयाँ पुरस्कार पाए ।

राष्ट्रिय ‘बी’ च्याम्पियनसिपबाट छानिएका ८, साविक विजेता तथा फिडे रेटिङमा शीर्ष स्थानमा रहेका १-१ गरी १० खेलाडीबीचको राउण्ड रोविन प्रणालीमा भएको प्रतिस्पर्धामा शीर्ष तीन स्थानमा रहने खेलाडी ‘ए’ च्याम्पियनसिपमा कायम रहेका छन् भने बाँकी सात खेलाडी ‘बी’ च्याम्पियनसिपमा घटुवा भएका छन् ।

 शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपका लागि स्वतः छनोटसमेत भएका छन् ।

दिव्यांश मन्टी प्रोडक्सनको प्रमुख प्रायोजन तथा रुक्मिणी टूर्स र नेपाल टेलिकमको सहप्रायोजनमा भएको प्रतियोगितामा महिलातर्फ सुजनाले २५ हजार रुपैयाँ पुरस्कर पाइन् । साढे ५ अंकसहित क्रमसः सुशीला गुरुङ उपविजेता र शान्ती धिमाल तेस्रो भए ।

नवौं चरणमा यी दुईले बराबरी खेलेका थिए । सुशीलाले १५ हजार तथा शान्तीले १० हजार रुपैयाँ पुरस्कार पाए । खुलातर्फ जस्तै महिलातर्फ पनि शीर्ष तीन खेलाडी अर्को राष्ट्रिय च्याम्पियनसिपमा रहनेछन् भने बाँकी सात जनाले बी च्ययाम्पियनसिप खेल्नेछन् ।

प्रतियोगितामा खुलातर्फको विजेता रुपेश र महिलातर्फकी सुजनाले बंगलादेशमा यही महिना आयोजना हुने वर्ल्ड कप साइकल एसियन जोनल ३.२ च्याम्पियनसिप तथा एसियन च्याम्पियनसिपका लागि छानिएका छन् । साथै उनीहरुले सन् २०२४ मा हंगेरीको बुढापेष्टमा हुने ४५औं चेस ओलम्पियाडका लागि पनि नेपाली टिममा आफ्नो स्थान सुरक्षित गरेका छन् ।

महिलातर्फ उत्कृष्ट खेल प्रदर्शन गर्ने प्रतियोगिताकै कान्छी खेलाडी १३ वर्षीया रिया श्रेष्ठ र खुल्लातर्फ १४ वर्षीय पुरुषोत्तम सिलवाललाई महासंघले १५-१७ बैशाखमा आयोजना हुने एसियन युथ मिक्स्ड डवल्स चेस टिम च्याम्पियनसिपमा सहभागिता गराउने भएको छ । एसिया क्षेत्रमा बढ्दो कोरोना संक्रमण दरका कारण यो प्रतियोगिता अनलाइन हुनेछ ।

काठमाडौंको ले हिमालय होटलमा बैशाख ५ गतेदेखि सन्चालिन प्रतियोगिताको पदक विजेता खेलाडीलाई पूर्व सभामुख कृष्णबहादुर महराले पुरस्कृत गरे ।