जुडो

जुडो टोलीको बिदाई

काठमाडौं । थाइल्यान्डको बैंककमा हुने एसियाली क्याडेट तथा जुनियर जुडो च्याम्पियनसिपमा नेपालका चार खेलाडीले प्रतिस्पर्धा गर्ने भएका छन् ।

साउन एक गतेदेखि सात गतेसम्म संचालन हुने प्रतियोगितामा क्याडेट र जुनियरतर्फ समान दुई गरी चार खेलाडीले नेपालको प्रतिनिधित्व गर्नेछन् ।  

जुनियरको पुरुषतर्फ ६० केजीमुनिको तौल समूहमा उत्तम प्रधान श्रेष्ठ र महिलातर्फ ५२ केजीमुनिको तौल समूहमा देवकीमायाँ श्रेष्ठले प्रतिस्पर्धा गर्नेछन् ।

क्याडेटको पुरुषतर्फ ५५ केजीमुनिको तौल समूहमा ताराबहादुर भुजेल र महिलातर्फ ४८ केजीमुनिको तौल समूहमा निशा श्रेष्ठले खेल्ने छन् । घरेलु प्रतियोगितामा चारै खेलाडीले बन्दी सहायता नियोग (पाम) को प्रतिनिधित्व गर्छन् ।

उक्त प्रतियोगिता खेल्न जाने चार खेलाडीसहितको आठ टोली शुक्रबार राखेपका सदस्य–सचिव टंकलाल घिसिङ र तालिम तथा प्रशिक्षण विभागका उप–निर्देशक हिमालराज दाहालले बिदाई गरे । जुडो टोली शुक्रबारै थाइल्यान्डतर्फ प्रस्थान गर्नेछन् ।