नेकोस

अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु

इलाम । नेकोस राष्ट्रिय क्रिकेट संघको आयोजना तथा इलाम जिल्ला क्रिकेट संघको ब्यबस्थापनमा आजदेखी इलाममा तीन दिने ’ओ’ लेभल क्रिकेट अम्पायरिङ तथा स्कोरिङ तालिम सुरु भएको छ । 

कार्यक्रममा नेपालका बिभिन्न ठाउँबाट महिला तथा पुरुष प्रशिक्षार्थीहरुले सहभागिता जनाएका छन । कार्यक्रम तीन दिनसम्म संचालन हुने नेकोस राष्ट्रिय क्रिकेट संघका सह सचिब चेतनाथ पौडेलले बताए ।

जिल्ला समन्वय समिति कार्यालय इलामको सभाहलमा सुरु भएको कार्यक्रमको उदघाटन इलाम नगरपालिकाका मेयर केदार थापाले गरेका थिए । सो अवसरमा मेयर थापाले जिल्लामै पहिलो पटक यस किसिमको कार्यक्रम आयोजना गरेकोमा नेकोस राष्ट्रिय क्रिकेट संघलाई धन्यबाद दिए । 
 

कार्यक्रम उदघाटनको क्रममा बोल्दै नेकोस राष्ट्रिय क्रिकेट संघका अध्यक्ष बिप्लभ घोषले नेपालको मेची देखी महाकाली सम्म क्रिकेटमय बनाउने अभियान अन्तर्गत यो कार्यक्रम आयोजना गरेको बताए । उनले नेपाल क्रिकेट संघसँगको सहकार्य तथा जिल्ला र प्रदेश क्रिकेट संघको समन्वयमा अगामी दिनहरुमा यस्ता कार्यक्रमहरुलाई निरन्तर रुपमा अगाडी बढाउने बताए ।

उनले कार्यक्रममा सहभागी महिला तथा पुरुष प्रशिक्षार्थीहरुलाई शुभकामना दिदै क्रिकेटमा पनि भबिष्य रहेको र सबैले आ आफ्नो क्षेत्रबाट क्रिकेट विकासमा जोड दिनुपर्ने बताए ।

कार्यक्रमका मुख्य प्रशिक्षक तथा आइसीसी प्यालनका अम्पायर बुद्धी बहादुर प्रधानले नेकोस राष्ट्रिय क्रिकेट संघले आयोजना गरेका यस किसिमको कार्यक्रमले नेपालको हरेक ठाउँमा क्रिकेट चलायमान हुने र भविष्यमा देशले राम्रा अम्पायर तथा स्कोरर पाउने आशा ब्यक्त गरे ।
कार्यक्रममा आईसीसी प्यानल अम्पायर बुद्धी बहादुर प्रधान सहित लेभल टु अम्पायर कमलेश ठाकुरले प्रशिक्षण दिनेछन ।

उदघाटन कार्यक्रममा प्रदेश नम्बर एक क्रिकेट संघका सदस्य टिकाराम पुरी, जिल्ला क्रिकेट संघ इलामका अध्यक्ष अर्जुन पौडेल, जिल्ला समन्वय समिति कार्यालय इलामका सदस्य लगायत क्रिकेटसँग सम्बन्धित बिभिन्न ब्यत्तित्वहरुको उपस्थिती रहेको थियो ।