उमा कुङफु

युरोपियन च्यामिपयनसिपमा सहभागी हुन उमा कुङफु टोली इङल्यान्ड जाने

काठमाडौं । उमा (वर्ल्ड युनिफाइड मार्सल आर्ट्स) युरोपियन च्याम्पियनसिपमा सहभागी हुन दुई खेलाडीसहित तीन सदस्यीय नेपाली उमा कुङफु टोली इङल्यान्ड जाने भएको छ ।

मार्सल आर्ट्का विभिन्न खेल समावेश प्रतियोगिता मे १५ तारिखमा हुँदैछ । त्यसमा दुई पुरुष खेलाडीले उमा कुङफुमा नेपालको चुनौती प्रस्तुत गर्नेछन् ।

सञ्जयराज पुटुवारले छाङ छ्वान र वेपन गरी दुई स्पर्धामा प्रतिस्पर्धा गर्नेछन् । भुपेन्द्र गुरुङले चाइनिज फर्मस्को छाङ छ्वानमा आफ्नो कौशल प्रदर्शन गर्नेछन् । सञ्जयले अस्ट्रियामा भएको वर्ल्ड  च्याम्पियनसिप, बंगलादेशमा भएको एसियाली च्याम्पियनसिप तथा भारतमा भएको दक्षिण एसियाली च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन् । भुपेन्द्रले जर्मनीमा भएको विश्व मार्सल आर्ट्स गेम्समा स्वर्ण पदक जितेका थिए ।

यस्तै, अफिसियल तथा जजका रुपमा नेपाल उमा कुङफु संघका अध्यक्ष सिद्धार्थ लामा टोलीसंगै इङल्यान्ड जाँदैछन् । अन्तर्राष्ट्रिय निर्णायक लामाले डेन्मार्क, जर्मनी, थाइल्यान्ड, अमेरिकालगायतका राष्ट्रमा भएका विभिन्न प्रतियोगितामा जजको भूमिका निर्वाह गरिसकेका छन् । लामाले तयारी राम्रो भएकाले खेलाडीले तीनै स्पर्धामा स्वर्ण पदक जित्ने अपेक्षा गरिएको बताए ।

भुपेन्द्र शुक्रबार जाने छन् भने बाँकी टोली शनिबार प्रतियोगिताको लागि त्यसतर्फ उड्ने कार्यक्रम छ । टोलीलाई नेपाल उमा कुङफु संघका वरिष्ठ उपाध्यक्ष एवं अन्तर्राष्ट्रिय निर्णायक सन्जीतकुमार राई, उपाध्यक्ष मुन्नी सुवेदी, सचिव रमेश महर्जन तथा सदस्यत्रय अशोक केसी, गुना गुरुङ र कमल मगरले बिहीबार आयोजित एक कार्यक्रमबीच बिदाई गरे ।