लियाेनल मेसी

मेसी सन् २०२२ मा सबैभन्दा धेरै कमाउने एथलिट

लन्डन । अर्जेन्टिनी स्टार लियोनल मेसी सन् २०२२ को सबैभन्दा धेरै कमाउन एथलिट बनेका छन् ।

चर्चित म्यागाजिन फोर्व्सले सन् २०२२ को सबैभन्दा धेरै कमाउनेको सूचीमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पिएसजी) का प्लेमेकर मेसी शीर्ष स्थानमा रहेको सार्वजनिक गरेको हो ।

फोर्वका अनुसार लियोनल मेसीले यो वर्ष कुल एक सय तीस मिलियन डलर कमाएका छन् । जसमध्ये मेसीले ७५ मिलियन डलर फुटबलबाट र ५५ मिलियन अन्य क्षेत्रबाट कमाएका छन् ।

फोर्व्सले सार्वजनिक गरेको सूचीमा पछिल्लाे १५ वर्षदेखि मेसीका चिरप्रतिद्वन्दीको रुपमा रहेका पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डो तेस्रो स्थानमा छन् । रोनाल्डोले यस वर्ष फुटबलबाट ६० मिलियन र फुटबल बाहेकबाट ५५ मिलियन गरी कुल एक सय १५ मिलियन डलर कमाएका छन् ।

यो सूचीको दोस्रो स्थानमा अमेरिकी बास्केटबल खेलाडी लेब्रोन जेम्स छन् । जेम्सले बास्केटबलबाट ४१.२ मिलियन र अन्य क्षेत्रबाट ८० मिलियन गरी एक सय २१ मिलियन डलर कमाएका छन् ।

यस सूचीको चौथोमा ब्राजिलियन फुटबलर नेइमार (९५ मिलियन डलर) र पाँचौ स्थानमा अमेरिकी बास्केटबल खेलाडी स्टेफेन करी (९२ मिलिनय डलर) छन् ।