पारा

पारा खेलाडीले उचाइ पाएको वर्ष

खेलकुद सवलांगका लागि मात्र होइन । यसको महत्व त अझ शारीरिक तथा मानसिक रूपमा फरक क्षमता भएकाका लागि झनै बढी हुन्छ । त्यसैले त अचेल प्रत्येक ओलम्पिक वा महादेशीय खेलकुद महोत्सवपछि पारा ओलम्पिक आयोजना गर्न थालिएको छ ।

विश्व खेलकुदको सबैभन्दा ठूलो मेला ओलम्पिकपछि पारा ओलम्पिक तथा एसियाली खेलकुदको कुम्भमेला एसियाडपछि पारा एसियाली खेलकुद हुनुले फरक क्षमता भएका खेलाडीका लागि आयोजित खेलकुदको महत्वलाई पुष्टि गर्छ ।

विश्वले नै पारा खेलकुदलाई सवलांगको खेलभन्दा धेरै पछिमात्र महत्व दिन थालेको हो । समग्र खेलकुद नै पिछडिएको अवस्थामा रहेको नेपालको हकमा त पारा खेलकुदको अवस्था झनै दयनीय छ । सरकार तथा खेलकुदका नियमनकारी निकायहरूले पारा खेलकुदलाई कर्मकाण्डी विधामा सीमित पारेका छन् । जसका कारण पारा खेलकुदमा नेपालले मार्नसक्ने फड्कोबाट चुकिइरहेको अवस्था छ ।

बितेको वर्ष कोभिड–१९ महामारीबाट विश्व पूर्ण रूपमा मुक्त भइनसकेको अवस्थामा समग्र खेलकुद नै समस्यामा थियो । सवलांगका खेल गतिविधि पनि संक्रमणको त्रासका कारण स्वाभाविक रूपमा हुन नसकिरहेका बेला पारा खेलकुद झनै प्रभावित थिए । नेपाली खेलकुदमा पनि पारा खेलकुदका गतिविधि स्वाभाविक रूपमा अघिल्ला वर्षहरूको तुलनामा अत्यन्तै न्युन भए । अन्तर्राष्ट्रिय स्तरमा पनि पारा खेलकुदको गतिविधि त्यति बाक्लो रहेन ।

तथापि बितेको वर्ष जापानको टोकियोमा भदौ महिना सम्पन्न पारा ओलम्पिकमा पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धनको प्रदर्शनले समग्र नेपाली खेलप्रेमीको शीर गर्वले ठाडो पार्यो । टोकियोको एरिनामा पलेशा पारा ओलम्पिकमा नेपाललाई पहिलो कांस्य पदक जिताउने सम्भावना नजिक पुगेकी थिइन् । तर चीनकी ली चेनसँग १२–९ को अन्तरमा पराजित भएपछि उनको पदक जित्ने सम्भावना सकिएको थियो ।

लगत्तै मंसिरमा मध्यपूर्वको बहराइनमा आयोजित एसियन युथ पारा गेम्समा पलेशाले स्वर्ण पदक जितेर पारा ओलम्पिकमा दुई महिनाअघि पदकविमुख हुनुपरेको घाउमा मलम लगाइन् । के४४ विधाको ५७ केजीमुनि तौल समूहको फाइनलमा इरानकी एब्राहिमी रोजालाई ६–० को अन्तरमा हराउँदै उनले स्वर्ण जितेकी थिइन् ।

तर, पदक नजिते पनि विश्व स्तरको प्रतियोगितामा दुई फाइट जित्दै पलेशाले नेपाली खेलकुदको सम्भावना उजागर गरेकी थिइन् । पहिलो चरणमा पराजित भए पनि रिपिचेजका लागि पाएको अवसरमा दुई जित हासिल गरेर उनी पदक नजिक पुगेकी हुन् ।

लगत्तै मंसिरमा मध्यपूर्वको बहराइनमा आयोजित एसियन युथ पारा गेम्समा पलेशाले स्वर्ण पदक जितेर पारा ओलम्पिकमा दुई महिनाअघि पदकविमुख हुनुपरेको घाउमा मलम लगाइन् । के४४ विधाको ५७ केजीमुनि तौल समूहको फाइनलमा इरानकी एब्राहिमी रोजालाई ६–० को अन्तरमा हराउँदै उनले स्वर्ण जितेकी थिइन् ।

बहराइनमा भएको सोही प्रतियोगितामा अर्की पारा तेक्वान्दो खेलाडी सिर्जना घिसिङले नेपालका लागि रजत जित्दा विशाल गर्बुजाले ५८ केजीमुनि तौलमा कांस्य जितेका थिए । सिर्जनाको त्यो पहिलो अन्तर्राष्ट्रिय सहभागिता थियो । जहाँ उनले पदक नै जितिन् ।

पारा तेक्वान्दो खेलाडीले अपेक्षित सफलता हासिल गरेको वर्ष फागुन अन्त्यमा इरानको तेहरानमा सम्पन्न डब्लुटी प्रेसिडेन्ट कप एसियन रिजनमा पनि सिर्जनाले रजत पदक जितेर वर्षलाई सुखद अन्त्य गरिदिइन् । लगातार दोस्रो अन्तर्राष्ट्रिय सहभागितामा रजत जित्ने क्रममा के४४ विधाको महिला ५२ केजीमुनि उनले रजत जितेकी हुन् ।

पारा खेलकुद प्रतियोगिता विगतको तुलनामा बढिरहेका छन् । यसतर्फ आफ्नो प्रतिभा प्रस्फुटन गर्ने अवसर पाइरहेका छन् । नेपाली खेलाडीको अन्तर्राष्ट्रिय सहभागिता पनि बढ्दै गएको छ । यद्यपि बितेको एक वर्षको करिब आधा समय कोभिड प्रभावित बन्दा पारा खेलकुदमा पनि त्यसको गहिरो असर परेको छ ।

तर, वर्ष २०७८ लाई बिदा गरेर २०७९ लाई स्वागत गर्दा कोभिड प्रभाव हराइसकेको छ । यस्ता विविध बाध्यतामुक्त सुरुआत पाएको यो वर्षमा पारा खेलकुदले अझै बढी ‘स्पेस’ बनाउने आशा गर्न सकिन्छ ।