भलिबल

राष्ट्रिय खेलको सन्तोषजनक साल

कोभिड–१९ महामारीको चपेटामा दुई वर्ष थिचिइसकेको मानव जातिले वर्ष २०७८ साल पनि त्यसको त्रासबीच सुरु गरेको थियो । भाइरसका नयाँ नयाँ प्रजातिले महामारीको अवस्था थप जटिल बनाइरहेका बेला अझै बढी भयसँगै नयाँ वर्ष सुरु भएको थियो ।

वर्ष २०७८ मा पनि सुरुआती पाँच महिना यही भयबाट ग्रसित हुँदा नेपाली खेलकुदले गति लिन सकेन । भनौं, महामारीपछिको खेलकुद सुरु नै हुन सकेन । तर महामारीको त्रास कम भएसँगै विस्तारै सुरु भएर नेपाली खेलकुद वर्षको अन्त्यमा आइपुग्दा अत्यन्तै व्यस्त बन्यो । यसैक्रममा नेपालको राष्ट्रिय खेल भलिबलले पनि वर्ष २०७८ लाई त्यत्तिकै खेर जान दिएन ।

पुस दोस्रो साता भएको प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानसँग पाँच सेटसम्म संघर्ष गर्दै २६–२४, २४–२६, २५–१५, २२–२५, १५–१० को विजय नतिजा निकालेर नेपाली महिला टोलीले उपाधि रक्षा गरेको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानको टिम सहभागी थिए ।

राष्ट्रिय–अन्तर्राष्ट्रिय स्तरमै नेपाली भलिबलले वितेको वर्ष सन्तोषजनक उपलब्धि हासिल गर्यो । बंगलादेशको ढाकामा सम्पन्न एभिसी सेन्ट्रल जोन एसियन सिनियर पुरुष तथा महिला च्यालेन्ज कपमा महिला टोलीले जितेको उपाधि वर्ष २०७८ मा नेपाली भलिबलको विशेष उपलब्धि थियो ।

पुस दोस्रो साता भएको प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानसँग पाँच सेटसम्म संघर्ष गर्दै २६–२४, २४–२६, २५–१५, २२–२५, १५–१० को विजय नतिजा निकालेर नेपाली महिला टोलीले उपाधि रक्षा गरेको थियो । प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका, माल्दिभ्स, उज्वेकिस्तान र किर्गिस्तानको टिम सहभागी थिए ।

यसअघि बंगलादेशमै भएको प्रतियोगिताको पहिलो संस्करणमा माल्दिभ्सलाई फाइनलमा हराएर नेपालले स्वर्ण पदक जितेको थियो ।

प्रतियोगिताको दोस्रो संस्करणमा महिला टोलीले उपाधि रक्षा गर्दा पुरुष टोली भने पदकविमुख भएर फर्कियो । तथापि टोलीको प्रदर्शनमा आएको सुधारबाट भने उत्साही हुने ठाउँ भेटियो ।

नेपाली पुरुष टोलीले प्रतियोगिताको पहिलो खेलमा आयोजक बंगलादेशसँग सोझो सेटमा पराजय भोगे पनि दोस्रो खेलमा उज्वेकिस्तानमााथि ३–१ को जित निकालेको थियो । बलियो मानिएको उज्वेकिस्तानमाथि नेपाली पुरुष टोलीले हासिल गरेको त्यो पहिलो जित थियो ।

श्रीलंका र माल्दिभ्ससँग खेलेका थप दुई खेलमा नेपालले एक जित र एक हारको नतिजा निकाल्यो । श्रीलंकासँग ३–१ को सेटमा पराजित भएको नेपालले माल्दिभ्सलाई सोझो सेटमा हराउँदै दुई वर्षअघिको बदला लियो । दुई वर्षअघि घरमै माल्दिभ्ससँग नेपाल सोझो सेटमा पराजित भएको थियो ।

विगतको तुलनामा परिपक्व प्रदर्शन गरे पनि नेपालले तेस्रो स्थानका लागि भएको प्लेअफमा उज्वेकिस्तानलाई नतिजा सुम्पँदै खाली हात घर फर्कियो । पहिलो चरणमा आफैंले पराजित गरेको टोलीसँग प्लेअफमा नेपाल ३–१ को सेटमा पराजित भएको थियो ।

घरेलु क्यालेन्डरमा व्यस्तता

घरेलु भलिबल पनि वितेको वर्ष कोभिड महामारीको त्रास कम भएसँगै व्यस्त रह्यो । वर्षको अन्त्यसम्ममा विभिन्न स्तरबाट गरिएका सातवटा घरेलु प्रतियोगिता सम्पन्न भएका छन् ।

सिन्धुपाल्चोकमा भोटेकोसी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबलबाट सुरु भएको घरेलु भलिबलको सिजन गत साता पाल्पाको रानीमहल किनारमा सम्पन्न सञ्जय स्मृति राष्ट्रिय महिला बिच भलिबल च्याम्पियनसिपसँगै सकियो ।

वैशाख ८ देखि ११ सम्म भएको गाउँपालिका अध्यक्ष कपमा एपिएफ क्लबले न्यु डायमन्ड स्पोर्ट्स क्लबलाई सोझो सेटमा हराएर उपाधि जित्यो ।

यस्तै, त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप)को कभर्डहलमा असोज १० देखि १६ सम्म भएको राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब च्याम्पियनसिपको पुरुषतर्फ त्रिभुवन आर्मी क्लब र महिलातर्फ न्यु डायमन्ड च्याम्पियन भए ।

पोखरामा मंसिर २६ देखि पुस १ सम्म भएको टाइगर कप राष्ट्रिय महिला तथा पुरुष भलिबल प्रतियोगिताको महिलामा एपिएफ र पुरुषमा आर्मीले उपाधि उचालेका थिए ।  

चितवनको आबुँखैरेनीस्थित सिमलटाँडीमा फागुन २५–२९ सम्म भएको लोकबहादुर पुन स्मृति कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा न्यु डायमन्ड भलिबल क्लबले उपाधि जित्यो ।

चैत ७ देखि १२ सम्म कैलालीको धनगढीमा सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको उपाधि आर्मीले जित्यो ।

नेपालगन्जस्थित कभर्डहलमा चैत १० देखि सुरु सातौं प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगितामा भारतको हरियाणा स्पोर्ट्स क्लब च्याम्पियन भयो ।

यसैगरी पाल्पाको तानसेनस्थित ऐतिहासिकस्थल रानीमहलको आगँनमा कालीगण्डकी नदी किनारमा भएको सञ्जय स्मृति महिला बिच भलिबलको उपाधि नेपाल पुलिस क्लबका खेलाडी हात पारेका छन् । चैत अन्त्यमा सम्पन्न प्रतियोगिताको फाइनलमा पुलिसका कमला पुन र मनीषा चौधरीको जोडीले लुम्बिनी प्रदेशका भावना डाँगी र सरस्वती कट्टेलको जाडीलाई सोझो सेटमा हराएर उपाधि जित्यो ।

फ्रेन्चाइज भलिबल लिगको चर्चा

भदौ २२ नेपाल भलिबल संघको पत्रकार सम्मेलनमा खेलाडी तथा भलिबलप्रेमीका लागि खुसीको खबर थियो, ‘यसै वर्षबाट फुटबल र क्रिकेटमा जस्तै भलिबलमा पनि फ्रेन्चाइज लिग हुने ।’

नेपाल भलिबल संघ (एनभिए) र चौधरी ग्रुपअन्तर्गत नेपाल स्पोर्ट्स तथा इभेन्ट म्यानेजमेन्ट कम्पनीबीच फ्रेन्चाइज भलिबल लिगका लागि १० वर्षे सम्झौतासमेत भइसकेको छ ।

पुरुष र महिला दुवैतर्फ मंसिरमा नै फ्रेन्चाइज लिग गराउने घोषणा गरियो । तर, क्यालेन्डर वर्षको अन्त्य भइसक्दा पनि भलिबलमा फ्रेन्चाइज लिग हुने विषय चर्चामै सीमित भयो । कोभिड महामारी उत्कर्षमा रहँदा गत वैशाखमा फुटबलमा नेपाल सुपर लिग (एनएसएल) भव्यतापूर्वक सम्पन्न गरेपछि उत्साही बनेको आयोजकले भलिबलमा भने घोषणा मात्र गर्न सक्यो ।

फुटबलमै एनएसएलको दोस्रो संस्करण विवादमा तानिएपछि आयोजकको उत्साह कम भएको हुनुपर्छ । फुटबलमा सहिद स्मारक लिगका क्लब र एन्फासँग विवाद भएपछि यही चैतमा सुरु हुने घोषणा गरिएको एनएसएल स्थगित भएको छ । भलिबलको विषयमा भने आफैंले निर्धारण गरेको समयसीमामा आयोजना गर्न नसके पनि आयोजकले केही बताएको छैन । फुटबलको विवादपछि भलिबलको फ्रेन्चाइज लिग पनि नहुने भयले भलिबल परिवारलाई गाँजेको छ ।

आर्मीको पुनरागमन, एपिएफ खस्कँदो

वर्ष २०७८ मा आर्मीको पुरुष टिमले तीन फरक प्रतियोगिताको उपाधि उचाल्यो । त्यसमध्ये असोज १० देखि राखेपको कभर्डहलमा भएको राष्ट्रिय एनभिए महिला तथा पुरुष क्लब भलिबल च्याम्पियनसिप पहिलो प्रतियोगिता थियो । तीन भारतीय खेलाडीसम्मिलित साबिक विजेता हेल्प नेपाल स्पोर्ट्स क्लबलाई फाइनलमा ३–१ को सेटमा स्तब्ध पार्दै आर्मीको पुरुष टोली च्याम्पियन भयो ।

यस्तै, दुई महिनापछि पोखरामा भएको टाइगर कपको पुरुषतर्फ हेल्प नेपाललाई ३–१ कै सेटमा फेरि एकपटक हराएर आर्मीले सिजनको दोस्रो उपाधि उचाल्यो ।

गत साता सम्पन्न मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सफलता हासिल गर्दै आर्मीले उपाधिमा ह्याट्रिक गर्यो । मुख्यमन्त्री कपको फाइनलमा आर्मीले विभागीय प्रतिद्वन्द्वी नेपाल पुलिस क्लबलाई ३–१ को सेटमा हराउँदै वर्षको तेस्रो ठूलो उपाधि हात पारेको थियो ।

घरेलु महिला भलिबलमा सर्वाधिक सफल रहँदै आएको एपिएफले भने आफ्नो दबदबा कायम राख्न सकेन । पूरा सिजनमा टोलीले दुईमात्र उपाधि हात पार्यो । सिन्धुपाल्चोकमा जितेको भोटेकोसी गाउँपालिका अध्यक्ष कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता र टाइगर कपको उपाधि नेपाली महिला भलिबलको महारथीले बितेको वर्ष हासिल गरेका थिए ।

एपिएफले स्वाभाविक लय कायम राख्न नसक्दा राखेपको कभर्डहलमा भएको एनभिए च्याम्पियनसिप मान्यु डायमन्ड एकेडेमीले बाजी मार्यो । फाइनलमा ५ सेटसम्म संघर्ष गर्दै साबिक विजेता एपिएफलाई ३–२ को सेटमा हराउँदै न्यु डायमन्डले उपाधि जितेको थियो ।

त्यही प्रतियोगितापछि एपिएफकी मुख्य खेलाडी सरस्वती चौधरीले घुँडाको शल्यक्रिया गराइन् । आराममा रहेकी सरस्वतीको अनुपस्थिति त्यसपछि एपिएफको टोलीमा खट्किँदा विभागीय महारथी कोर्टमा झनै कमजोर रूपमा प्रस्तुत भयो । सरस्वती उपलब्ध नहुने भएकै कारण चैत महिना नेपालगन्जमा सम्पन्न प्रधानमन्त्री कपमा एपिएफले सहभागिता नै जनाएन ।