इयर इन्डर्स २०२१

नेपाली खेलकुदमा बितेको वर्ष: एथ्लेटिक्स देखि भलिबलको स्वर्णसम्म

काठमाडौं । कोभिड १९ को महामारीले करिब दुई वर्ष थलिएको नेपाली खेलकुदले पुरानै लयमा फर्किने जमर्कोमा एक वर्ष (सन् २०२१) खर्चियो । अन्तर्राष्ट्रिय स्तरमा नेपालले वितेको एक वर्षमा मिश्रित नतिजा निकाल्यो ।

कोराना महामारीबाट पूर्ण छुट्कारा नपाउँदै आयोजना भएका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामामा नेपालको प्रदर्शन औसत नै रह्यो । विश्व खेलकुदको महाकुम्भ– ओलम्पिकमा नेपाल सदा झैँ निराश बन्दा फुटबल टोलीले ऐतिहासिक उपलब्धी हासिल गर्यो ।  

पुष्पा भण्डारीले जनवरीमा बंगलादेशमा भएको ढाका म्याराथनमा स्वर्ण जितेसँगै नेपाली खेलकुदले वर्षको सुखद् सुरुआत गरेको थियो । र, मंगलबार राष्ट्रिय महिला भलिबल टोलीले स्वर्ण पदक जितेसँगै सन् २०२१ को बिदाई पनि सुखद् नै रह्यो । बंगलादेशमा स्वर्णबाट सुरु भएको नेपाली खेलकुदको वर्ष बंगलादेशमै स्वर्ण जितेर समापन भएको छ । सुखद संयोग कस्तो भने, नेपाललाई दुवै सफलता महिला खेलाडीबाट मिल्यो ।

कोभिडको प्रभावबाट मुक्त हुने प्रयासमा केन्द्रित रहेको पछिल्लो वर्ष २०२१ मा नेपाली खेलकुदले अन्तर्राष्ट्रिय प्रतियोगितामा बेहोरेका उत्तर–चढाब:

फुटबलमा अभूतपूर्व सफलता

नेपाली पुरुष फुटबलका लागि यो वर्ष उत्कृष्ट रह्यो । यद्यपि, महिला टोलीका लागि भने यो वर्ष बिर्सिन लायक रह्यो । पुरुष टोलीले २८ वर्षमा पाहिलो पटक साफ च्याम्पियनसिपको फाइनल यात्रा तय गर्यो । यस्तै, नेपालले विश्व कप तथा एसियन कपको संयुक्त छनोटअघि इराक जस्तो बलियो टोलीसँग मैत्रीपूर्ण खेलको मौका पाएको थियो ।

त्यसअघि नेपालले घरेलु मैदानमा थ्री नेसन्स कप आमन्त्रण फुटबल प्रतियोगिताको आयोजना गर्दै उपाधिसमेत जित्यो । विश्वकप छनोटअघि नेपालले भारतसँग दुई मैत्रीपूर्ण खेल खेलको थियो ।

विश्वकप छनोटको प्रारम्भिक चरणमा स्थान बनाउन असफल रहेको नेपालले एसियन कपको तेस्रो चरण खेल्ने मौका पाएको छ । विश्वकप र एसियनतर्फ नेपालको अपेक्षा धेरै नभएकाले यी सबै कुरालाई साफ च्याम्पियनसिपमा फाइनल यात्राले छायाँमा पार्यो । नेपालले साफमा अभूतपूर्व सफलता हासिल गर्दै भारतसँग फाइनलमा भेट निश्चित गरेको थियो । फाइलनमा पराजित भएर उपाधिबाट विमुख हुनुपरे पनि नेपालका लागि उपविजेता बन्नु अभूतपूर्व उपलब्धी भयो ।

अर्कातिर महिला टोलीले एएफसी वुमेन्स कप छनोट चरण पार गर्न सकेन । सर्वकालिन उ्रच्च गोलकर्तासमेत रहेकी सावित्रा भण्डारीको चोटले समग्र टोलीलाई नै पिरोल्यो ।

छनोटको समूह एफअन्तर्गत फिलिपिन्स र हङ्कङविरुद्ध एक बराबरी र एक हार बेहोरेको नेपाली टोलीमा सावित्राको कमी खड्कियो । छनोट खेलेर फर्किँदै गर्दा नेपाली खेलाडीले खुलेरै सावित्रा भएको भए नतिजा अर्कै हुने बताएका थिए ।

त्यसबाहेक नेपाली महिला टोलीले बंगलादेशविरुद्ध दुई मैत्रीपूर्ण खेल खेल्ने मौका पायो । बितेको एक वर्षमा महिला टोलीले सीमित (४) खेलको मात्रै मौका पायो ।

औसत क्रिकेट

कोरोना भाइरसले थलिएको नेपाली क्रिकेटले पुरानै लयमा फर्किन ट्राई नेसन्स ट्वान्टी–२० शृंखलाबाट यात्रा सुरु गरेको थियो । नेदरल्यान्ड्स र मलेसिया सम्मिलित शृंखलामा नेपाली पुरुष टोली विजयी भयो ।

त्यसको करिब पाँच महिनापछि नेपाल विश्व कप क्रिकेट लिग–२ (सिडब्लुसी) का लागि कुवेत भ्रमणमा निस्किएको थियो । ओमान भ्रमणकै क्रममा नेपालले पपुवा न्युगिनीसँग दुई एकदिवसीय खेलेको थियो । ती दुवै खेलमा जित निकालेको नेपालले सिडब्लुसीमा दुई जित, दुई हारको नतिजा निकाल्यो । समग्रमा नेपाली पुरुषका लागि यो वर्ष औसत रह्यो ।

अर्कातिर महिला टोलीका लागि यो वर्ष मिश्रित रह्यो । नेपाली महिला टोलीले यो वर्ष पहिलो पटक एकदिवसीय श्रृंखला खेल्यो । कतारविरुद्धको त्यो शृंखलामा नेपालले क्लिनस्विप गर्यो ।

तर, आइसिसी वुमेन्स टी–२० विश्वकपको इस्टर्न रिजन छनोटमा नेपाली महिला टोलीले अपेक्षित प्रदर्शन गर्न सकेन । र, पहिलो चरणबाटै बाहिरिनु पर्यो । युएई, हङ्कङ, मलेसिया, भुटान र कुवेत सम्मिलित छनोटमा नेपाल तेस्रो स्थानमा सीमित भयो ।

भलिबलमा उत्साह

नेपाली भलिबलका लागि यो वर्ष मिश्रित रह्यो । पुरुष टोली औसत प्रदर्शन र नतिजाबाट माथि उठ्न नसक्दा महिला टोलीले सेन्ट्रल जोनको उपाधि रक्षा गर्यो । बंगलादेशमा भएको प्रतियोगिताको दोस्रो संस्करणमा ६ टोली सहभागी थिए । पाँच टोलीको चुनौती पन्छाउँदै च्याम्पियन बनेको नेपाली टोलीले अपराजित रहँदै दोस्रो पटक उपाधि जित्यो ।

राउन्ड रोबिन पद्दतिमा सम्पन्न प्रतियोगिताको शीर्ष स्थानमा रहँदै नेपाली महिला टोलीले फाइनल यात्रा तय गरेको थियो । प्रतियोगितामा नेपालले दुई खेलमा ४ सेटमा मात्रै पराजय बेहोर्यो ।

 पुरुष टोलीले खेलेको एउटा मात्रै प्रतियोगिता– सेन्ट्रल जोनमा दुई खेल मात्रै जित्दा महिला टोलीले अपराजित रहँदै उपाधि उचाल्यो । राष्ट्रिय स्तरमा लगातार प्रतियोगिता भइरहे पनि अन्तर्राष्ट्रिय प्रतियोगिताको खडेरी यो वर्ष पनि उस्तै रह्यो । 

ओलम्पिकमा निराशा

कोरोना भाइरसको महामारीको माझमा आयोजित टोक्यो ओलम्पिकमा नेपालको प्रदर्शन उल्लेख्य रहेन । सर्वाधिक आश गरिएकी पौडीकी गौरिका सिंहले अपेक्षित प्रदर्शन गर्न नसक्दा अन्य खेलाडीहरू– एलेक्स साह, कल्पना परियारले राष्ट्रिय कीर्तिमान बनाउँदा जुडोकी सोनिया भट्ट र एथ्लेटिक्सकी सरस्वती चौधरी सहभागीमा मात्रै सीमित रहे ।

एथ्लेटिक्सबाट वर्षको शानदार सुरुआत

वर्षको सुरुआतमै ढाकामा जितेको स्वर्ण पदक यो वर्ष नेपालले अन्तर्राष्ट्रिय स्तरमा एथ्लेटिक्समा हासिल गरेको सबैभन्दा ठूलो उपलब्धी रह्यो । त्यसबाहेक नेपालले ओलम्पिकमा नेपालको प्रतिनिधित्व गर्दै १ सय मिटरमा प्रतिस्पर्धा गरेकी सरस्वती चौधरीले उल्लेख्य प्रदर्शन गर्न सकिनन् ।

त्यसबाहेक नेपाली धावक गोपी चन्द्र पार्कीले जर्मनीमा भएको बर्लिन म्याराथनमा सहभागिता जनाए पनि उल्लेख्य प्रदर्शन गर्न सकेनन् ।