स्पेनिस ला लिगा

बेइल्सा मेरो प्रेरणाको स्रोतः राफिन्हा

मड्रिड । स्पेनिस ला लिगाको क्लब बार्सिलोनामा अनुबन्ध भएसँगै राफिन्हाले आफ्नो खेलजीवन परिवर्तन गर्न लिड्सका पूर्व प्रशिक्षक मार्सेलो बेइल्साले प्रमुख भुमिका खेलेको बताएका छन् ।

बार्सिलोनाले गत साता राफिन्हालाई लिड्सबाट पाँच वर्षका लागि क्याम्प नोउमा भित्राएको थियो ।

सन् २०२० मा लिड्स आउनु अघि राफिन्हाले स्पोर्टिङ सिपी र रेनिसमा लोनबाट समान एक सिजन खेलेका थिए ।

राफिन्हाले आफ्नो बार्सिलोनाबाट खेल्ने सपना बेइल्साकै कारण सभ्भव भएको बताए ।

‘उनले मेरा जीवनमा ठूलो अर्थ राख्छन्’,राफिन्हाले भने, ‘उनले मलाई फ्रेन्च लिगबाट बाहिर ल्याए । उनकै प्रशिक्षण मैले लय भेट्टाए । जसका कारण म ब्राजिलको राष्ट्रिय टोलीमा स्थान बनाउन सफल भए । मेरो सपना ब्राजिलमा व्यवसायिक लिग खेल्ने थियो तर त्यो सम्भव भएन । तर मैले युरोपमा भने आफ्नो क्षमता प्रमाणित गर्ने अवसर पाए । मेरो च्याम्पियन्स लिग खेल्ने सपना समेत साकार हुँदैछ । ’

गत सिजन राफिन्हाकै उत्कृष्ट प्रदर्शनमा लिड्सले प्रिमियर लिगको रेलिगेशन संकट टारेको थियो । उनले लिड्सबाट प्रिमियर लिगको ६५ खेलमा २९ गोल गरेका थिए ।