इङ्लिस प्रिमियर लिग

स्टामफोर्ड ब्रिजमा सफलता चुम्ने स्टर्लिङको चाहाना

लन्डन । रहिम स्टर्लिङले चेल्सीमा धेरै भन्दा धेरै सफलता चुम्ने चाहना व्यक्त गरेका छन् ।

स्टर्लिङ गत साता इङलिस प्रिमियर लिगको साविकको विजेता म्यानचेस्टर सिटीबाट स्टामफोर्ड ब्रिजमा भित्रिएका थिए । उनलाई चेल्सीले ४५ मिलियन पाउन्डमा अनुबन्ध गरेको थियो । 

उनले सिटीमा सात वर्ष बस्दा चार पटक प्रिमियर लिगको उपाधि जितेका थिए । चेल्सीका लागि गत सिजन मेसन माउन्टले सर्वाधिक गोल गरेका थिए । उनको नाममा ११ गोल रहेको थियो ।स्टर्लिङले भने प्रिमियर लिगमा अहिले सम्म ९१ गोल गरिसकेका छन् ।

सन् २०१६–१७ मा एन्टोनियो कोन्टेको प्रशिक्षणमा प्रिमियर लिगको उपाधि जितेपछि चेल्सीले लिगको उपाधि जित्न सकेको छैन ।
कोन्टे बाहिरएपछि चेल्सीले च्याम्पियन्स लिग, युरोपा लिग, फिफा क्लब विश्वकप र घरेलु प्रतियोगिता जिते पनि प्रिमियर लिग भने जित्न सकेको छैन ।

‘पछिल्लो दुई वर्षमा चेल्सीले चार वा पाँच प्रतियोगितको फाइनल खेलिसकेको छ । यस क्रममा चेल्सीले च्याम्पियन्स लिग समेत जितिसकेको छ,’ स्टर्लिङले भने,टोली लयमा भएकाले यहाँ धेरै सफलता चुम्ने चाहाना छ । क्लबसँग जित्ने मानसिकता छ ।प्रशिक्षक थोमस टुचेलको प्रशिक्षणमा टोलीले आफूलाई उपाधि दाबेदारको रुपमा उभ्याउँदै समेत आएको छ ।

स्टर्लिङले अगस्ट ६ मा एभर्टनविरुद्धको खेलसँगै चेल्सीबाट प्रिमियर लिगमा डेब्यु गर्नेछन् ।