सहिद स्मारक ‘सी’ डिभिजन लिग

पुल्चोकको लगातार तेस्रो जित

काठमाडौं । सहिद स्मारक ‘सी’ डिभिजन लिगमा पुल्चोक स्पोर्टस क्लबले लगातार तेस्रो जित दर्ता गरेको छ । 

सातदोबाटोस्थित एन्फा मुख्यालयमा बिहीबार पुल्चोकले झम्सिखेल युथ क्लब ४-१ को पुनरामगन जित निकाल्यो । पुल्चाेकलाई जित दिलाउन सिरब लो तामाङले दुई तथा मदन पौडेल र समिप ढकालले समान एक गोल गरे । झम्सिखेलका लागि ओम धामीले गरेको गोल सान्त्वना बन्यो ।

जितसँगै पुल्चोकको तीन खेलबाट नौ अंक छ । पराजित झम्सिखेलको समान खेलबाट तीन अंक छ ।

खेलको १८औं मिनेटमा ओमको गोलमार्फत झम्सिखेलले अग्रता लिएको थियो । पहिलो हाफमो इन्जुरी समयमा मदनले खेललाई बराबरीमा ल्याए ।

पहिलोहाफको इन्जुरी समयमै सिरबले पेनाल्टीमार्फत गोल गर्दा पुल्चोक २-१ ले अगाडि बढ्यो । ५१औं मिनेटमा  सिरबले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे ।

समिपले ६४औं मिनेटमा गोल गरेपछि पुल्चोकले ४-१ को पुनरागमन जित निकाल्यो ।

यसअघि पुल्चोकले सामाजीक युवा क्लबलाई ३-० तथा स्वयम्भु क्लबलाई २-१ ले पराजित गरेको थियो । यसअघि स्पोर्टस एकेडेमी साँगासँग १-० ले पराजित झम्सिखेलले गोलबजार स्पोर्टस क्लबलाई ४-० ले हराएको थियो ।