अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

बराबरीमा रोकिए स्पेन र ब्राजिल

काठमाडौं । स्पेन र ब्राजिल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा ३-३ को  बराबरीमा रोकिएका छन् । 

स्पेनको मड्रिडस्थित सान्टियागो बर्नाबेउमा मंगलबार घरेलु टोली स्पेनका लागि रोड्रीले दुई तथा ड्यानी ओल्मोले एक गोल गरे । ब्राजिलका रोड्रिगो, एन्ड्रिक र लुकास पाक्वेटाले  गोल फर्काए ।

खेलको १२औं मिनेटमा रोड्रीको पेनाल्टी गोलमार्फत स्पेनले अग्रता लिएको थियो । लमिन यमललाई जोआओ गोमेजले फउल गरेपछि प्राप्त पेनाल्टीलाई रोड्रीले सहजै पोस्टको दिशा दिए ।

ओल्मोले ३६औं मिनेटमा गोल गर्दै टोलीको अग्रता दोब्बर पारे । यमलको पासलाई ब्राजिलका दुई रक्षक बिट गर्दै ओल्मोले जाली चुमाए ।

रोड्रिगोले गोल गर्दै ४०औं मिनेटमा  खेललाई २-१ को स्थितिमा ल्याए । उनले स्पेनका गोलरक्षक सिमोनको गल्तीको फाइदा उठाए । रोड्रिगोकै प्रहारलाई नियन्त्रणमा लिँदै सिमोनले आफ्ना खेलाडी दिने क्रममा बल रोड्रिगोको खुट्टामा पुग्दा उनले खाली पोस्टमा गोल गरे ।

परिवर्तित खेलाडीको रुपमा मैदान छिरेका एन्ड्रिकले ५०औं मिनेटमा गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए । उनी रोड्रिगोको कर्नरमा बेराल्डोले फ्लिक गरेको बल क्लियर हुन नसक्दा भेट्टाएको बललाई जाली चुमाउन सफल भए ।

एन्ड्रिक दोस्रो हाफको सुरुआतमै राफिन्हाको स्थानमा मैदान छिरेका  थिए । एन्ड्रिक ब्राजिलका लागि पछिल्लो दुई खेलमा नै गोल गर्न सफल भएका हुन् । यसअघि उनले इंग्ल्यान्डमाथि १-० को जित निकालेको खेलमा गोल गरेका थिए ।

रोड्रीले निर्धारित समम सकिने तीन मिनेट बाँकी छँदा पेनाल्टीमार्फत नै ब्यक्तिगत दोस्रो गोल गर्दै स्पेनलाई ३-२ ले अगाडि बढाए ।  बेराल्डोले ड्यानी कार्भाजललाई फउल गरेपछि स्पेनले पेनाल्टीको अवसर पाएको थियो । त्यसमा रोड्रि चुकेनन् ।

इन्जुरी समयमा लुकास पाक्वेटाले पेनाल्टीमा गोल गर्दै ब्राजिललाई हारबाट जोगाए ।कार्भाजलले गोनोमागि फउल गरेपछि ब्राजिाले पेनाल्टीको अवसर पाएको थियो । जसमा पाक्वेटाले गोल गर्न सफल भए ।