अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल

फ्रान्सको रोमाञ्चक जित

काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु टोली फ्रान्सले चिलीमाथि ३-२ को रोमाञ्चक जित निकालेको छ ।

भेलोड्रोम रंगशालामा मंगलबार फ्रान्सलाई जित दिलाउन युसोफ फोफाना, रान्डल कोलो मुएनी र ओलिभर जिरुडले गोल गरे । चिलीका मार्सेलिनो नुनेज र डारियो ओसोरियोले गोल  गरे ।

खेलको छैटौं मिनेटमा नुनेजको गोलमार्फत चिलीले अग्रता लिएको थियो । तर, चिलीको यो अग्रता लामो समय टिकेन ।

फोफानाले १९औं मिनेटमा गोल गर्दै खेललाई बराबरीमा ल्याए । उनले केलियन एमबाप्पेको पासलाई सदुपयोग गरे । २५औं मिनेटमा मुएनीले थियो हर्नान्डेजको पासमा गोल गर्दै फ्रान्सलाई पहिलो हाफमा २-१ को अग्रता दिलाए ।

७२औं मिनेटमा ओलिभर जिरुडले टोलीका लागि तेस्रो गोल गरे । उनले मुएनीको पासलाई पोस्टको दिशा दिए ।  

८२औं मिनेटमा ओसोरियोले गोल गर्दै चीलीलाई खेलमा फर्काउने प्रयास गरे पनि त्यस पर्याप्त नबन्दा फ्रान्स ३-२ ले विजयी भयो ।