इन्डियन प्रिमियर लिग

चेन्नईले गुजरातलाई हरायो

काठमाडौं । साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल)मा लगातार दोस्रो जित हात पारेको छ ।

चेन्नईले घरेलु मैदान एमए चिदमबरम क्रिकेट रंगशालामा मंगलबार  गुजरात टाइटन्सलाई ६३ रनले हरायो ।

जितसँगै दुई  खेलमा चार अंक जोडेको चेन्नई शीर्ष स्थानमा छ । पहिलो पराजय ब्यहोरेको गुजरात समान खेलबाट दुई अंकका साथ छैटौं स्थानमा छ ।

चेन्नईले प्रस्तुत गरेको २०६ रनको लक्ष्य पछ्याएको गुजरातले २० ओभरम नै ब्याटिङ गरे पनि आठ विकेट गुमाउँदै १४३ रन बनायो ।

गुजरातका साई सुदर्शनले ३७, ऋद्धिमान शाहले र डेविड मिलरले समान २१, विजय शंकरले १२, अज्मतुल्लाह ओमजजाईले ११ र उमेश यादवले अविजित १० रन बनाए ।

चेन्नईका लागि दीपक चाहर, मुश्ताफिजुर रहमान र तुषार देशपाण्डेले समान दुई तथा ड्यारिल मिचेल र मथिसा पाथिरानाले समान एक विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईलेनिर्धारित  २० ओभरमा ६ विकेट गुमाउँदै २०६ रनको योगफल तयार पार्यो । चेन्नईका शिवम दुबेले २३ बलमा पाँच छक्का र दुई चौकाको मद्दतले सर्वाधिक ५१ रनको योगदान गरे ।

यसैगरी रचिन रविन्द्र र कप्तान रुतुराज गायकवाडले समान  ४६,  ड्यारिल मिचेलले अविजित २४, समिर रिज्वीले १४  र अजिंक्या रहाणे १२ रन बनाए ।

पहिलो विकेटका लागि रचिन र रुतुराजले ६२ रनको साझेदारी गरे । गुजरातका राशिद खानले दुई तथासाई किशोर, स्पेन्सर जोनसन र मोहित शर्माले समान विकेट लिए ।

आइपिएलमा बुधबार सनराइजर्स हैदराबाद र मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुनेछ ।