जर्मन बुन्डेसलिगा

बुन्डेसलिगामा लेभरकुसनलाई दश अंकको अग्रता

काठमाडौं । एफसी कोलोग्नलाई २–० ले हराउँदै जर्मन बुन्डेसलिगामा बायर लेभरकुसनलले दश अंकको अग्रता बनाएको छ ।

२४ मध्ये २० खेल जित्दै अपराजित यात्रा कायम राखेको जाभी ओलोन्सोको लेभरकुसनले ६४ अंक बनाएको छ । दोस्रो स्थानको बायर्न म्युनिख ५४ अंकसहित दोस्रो स्थानमा छ । दुई टोलीबीच प्रष्ट दश अंकको अग्रता बनेको हो ।

लेभरकुसनल जर्मन फुटबलमा लामो समय रहेको बायर्न म्युनिखको बददबा खोस्ने देखिएको हो । शुक्रबार बायर्न म्युनिख फ्रेइबर्गसँग २–२ को बराबरीमा रोकिएपछि लेभरकुसनलाई फाइदा पुगेको थियो ।

खेलको १४औं मिनेटमा घरेलु टोली कोलोग्नका जान थिअलमानलाई फाउल गरेपछि सिधै रातो कार्ड सामना गरेका थिए । यसपछि टोलीको प्रदर्शन कमजोर भएको थियो ।

जेरेमिन फ्रिम्पोङले ३७औं मिनेटमा अग्रता बनाए । एलेक्स ग्रिमाल्डोले ७३औं मिनेटमा दोस्रो गोल गरेपछि लेभरकुसनले सहज जित निकालेको हो ।