नेपाली फुटबल

अनिल पनि अस्ट्रेलिया प्रस्थान

काठमाडौं । उमेर समूहमा नेपालको प्रतिनिधित्व गरिसकेका युवा मिडफिल्डर अनिल महर्जन आइतबार अस्ट्रेलिया प्रस्थान गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) एकेडेमीका उत्पादन अनिल सन् २०१८ मा नेपालले दक्षिण एसियाली फुटबल महासंघ (साफ) यु १८ च्याम्पियनसिप जित्दाका सदस्य हुन् ।

अनिल, एरिक विष्ट, रेजिन सुब्बा, दीनेश हेन्जन, विकाश खवास एउटै ब्याचका खेलाडी हुन् ।

अनिलले थ्री स्टार क्लबबाट गत जेठमा सम्पन्न सहिद स्मारक ‘ए’ डिभिजन लिग खेलेको थिए । अनिल दोस्रो संस्करणको नेपाल सुपर लिग ( एनएसएल) विजेता ललितपुर सिटी एफसीका सदस्य हुन् ।  एनएसएलको फाइनलमा धनगढी एफसीविरुद्ध अनिलले पहिलो रोजाइमै  खेलेका थिए । 

गोदावरी नगरपालिका वडा नम्बर ११, चापागाउँका स्थानीय बासिन्दा अनिलले फ्रेन्ड्स क्लबबाट पनि शीर्ष डिभिजनको लिग खेले । यसैगरी गरी बुटवल लुम्बिनी एफसीबाट एनएसएलको पहिलो संस्करण खेलेका उनले विभिन्न प्रतियोगितामा जावलाखेल युथ क्लबको पनि प्रतिनिधित्व गरिसकेका छन् ।

पछिल्लो समय सुरक्षित भविष्य खोज्दै नेपाली फुटबल विदेश जाने क्रम बढीरहेको छ । पछिल्लो दुई वर्षमा मात्रै सयको हारहारीमा खेलाडी विदेश पुगिसकेका छन् । तीमध्ये अधिकांशको रोजाइमा अस्ट्रेलिया पर्ने गरेको छ ।

बिहीबार मात्रै अनिलकै ब्याचका रक्षक विकाश खवास अस्ट्रेलिया पुगेका थिए ।