कोपा डेल रे

बिल्वाओ कोपा डेल रेको फाइनलमा

काठमाडौं । ला लिगा प्रतिद्धन्द्धी एट्लेटिको मड्रिडमाथि समग्रमा ४-० को सहज जित निकाल्दै एथलेटिक क्लब बिल्वाओ कोपा डेल रेको फाइनल प्रवेश गरेको छ ।

 बिल्वाओले बिहीबार सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा ३-० को को जित निकाल्यो ।  पहिलो लेगमा बिल्वाओ १-० ले विजयी भएको थियो ।

घरेलु मैदान सान मामेस रंगशालामा बिल्वाओलाई सहज जित दिलाउन इनाकी विलियम्स, निको विलियम्स र गोर्का गुरुजेटाले गोल गरे ।

खेलको १३औं मिनेटमा इनाकीको गोलमार्फत बिल्वाओले अग्रता लिएको थियो । उनले निको विलियम्सको पासलाई पाेस्टकाे दिशा दिए। ४२औं मिनेटमा निकोले इनाकीको पासमा गोल गर्दै टोलीको अग्रता दोब्बर बनाए ।

गुरुजेटाले ६१औं मिनेटमा गोल गर्दै बिल्वाओलाई ३-० को जित दिलाए ।

बिल्वाओले उपाधिका लागि अप्रिल ६ मा मालोर्कासँग प्रतिस्पर्धा गर्नेछ ।मालोर्काले रियल सोसिडाडलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै फाइनलमा स्थान बनाएको हो ।