अर्जेन्टिनाविरुद्ध नेदरल्यान्ड्स

नेदरल्यान्ड्सको अपराजित यात्रा र अर्जेन्टिनाको पुनरागमन

काठमाडौं । नेदरल्यान्ड्स र अर्जेन्टिना विश्व फुटबलका पुराना प्रतिद्धन्द्धी हुन् । यी दुई देशले विश्वकपमा पाँच पटक खेलेका छन् । शुक्रबार लुसेल आइकोनिक रंगशालामा सेमिफाइनल स्थानका लागि फेरि एक पटक खेल्दैछन् ।

पछिल्लो १९ खेलमा अपराजित नेदरल्यान्ड्स र साउदी अरेयिबासँगको हारपछि पुनरागमन गरेको अर्जेन्टिनाको खेल नेपाली समय अनुसार राति १२ः४५ बजे हुनेछ ।

नेदरल्यान्ड्स र अर्जेन्टिनाबीचको पहिलो भेट पहिलो पटक १९७४ विश्वकपमा भएको थियो । त्यतिबेला कप्तान योहान क्रायफको दुई गोलको प्रेरणामा नेदरल्यान्ड्सले खेल ४–० ले आफ्नो पक्षमा पारेको थियो ।

चार वर्षपछि नेदरल्यान्ड्सलाई पराजिज गर्दै अर्जेन्टिनाले आफ्नो पहिलो विश्वकप उपाधि जितेको थियो । त्यतिबेला अर्जेन्टिनाले घरेलु मैदानमा ३–१ को जित निकालेको थियो ।

१९९८ मा फ्रान्समा भएको विश्वकपमा नेदरल्यान्ड्सले अर्जेन्टिनालाई क्वार्टरफाइनलमा २–१ ले पराजित गरेको थियो । आठ वर्षपछि जर्मनीमा समूह चरणमा यी दुईको खेल गोलरहित बराबरीमा टुंगिएको थियो । दुई टोलीबीच पछिल्लो भेट २०१४ मा ब्राजिलमा भएको थियो । त्यतिबेला नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गर्दै अर्जेन्टिनाले आप्mनै महादेशमा भएको विश्वकपमा फाइनलको यात्रा गरेको थियो ।

अमेरिकाविरुद्धको पछिल्लो खेलमा नेदरल्यान्ड्सलाई सुरुआती अग्रता दिलाएका डिपेप्रती सबैको नजर हुनेछ । पछिल्ला ३० अन्तर्राष्ट्रिय खेलमा ३४ गोलमा संलग्न रहेका डिपेले २४ गोल र ६ एसिस्ट गरेका थिए । जारी विश्वकपमा भने उनले एक गोल मात्र गरेका छन् । तर अमेरिकाविरुद्धको खेलसँगै उनले लयमा फर्केको संकेत दिँदा अर्जेन्टिनाविरुद्ध डिपेको महत्व धेरै रहने अपेक्षा समर्थकहरुले राखेका छन् ।

जारी विश्वकपमा अर्जेन्टिनाका कप्तान लियोनेल मेसी उत्कृष्ट लयमा छन् । मेसीले तीन गोल गरिसकेका छन् । नेदरल्यान्ड्सविरुद्ध मेसीले विश्वकपमा तेस्रो खेल खेल्दैछन् । २००६ मा अर्जेन्टिनाले नेदरल्यान्ड्ससँग गोलरहित बराबरी खेल्दा मेसीले ७० मिनेट खेलेका थिए ।

२०१४ मा मेसीकै नेतृत्वमा अर्जेन्टिनाले नेदरल्यान्ड्सलाई टाइब्रेकरमा पराजित गरेको थियो । मेसीले नेदरल्यान्ड्सविरुद्ध गोल गर्न सकेका छैनन् । तर पछिल्ला ३९ अन्तर्राष्ट्रिय खेलमा ३८ गोलमा संलग्न भएका मेसीले नेदरल्यान्ड्सविरुद्ध गोल गर्ने अपेक्षा गरिएको छ ।

लुइस भान हालले दोस्रो पटक सेप्टेम्बर २०२१ मा टोलीको जिम्मेवारी सम्हालेदेखि नेदरल्यान्ड्स अपराजित छ । भान हालको नेतृत्वमा नेदरल्यान्ड्सले १९ खेलमा १४ जित हासिल गरेको छ । अर्जेन्टिना पनि लियोनेल स्कालोनीको नेतृत्वमा विश्वकपअघि ३६ खेलमा अपराजित थियो । पहिलो खेलमा साउदी अरेबियासँग २–१ ले स्तब्धभएपछि अर्जेन्टिनाले लगातार तीन खेल जितेको छ ।

दुवै टिमसँग आक्रमणमा गुणस्तर छ । दुवै राष्ट्रले जारी विश्वकपमा रक्षात्मक स्थिरतालाई प्राथमिकता दिएका छन् । लुसेलमा यी दुई राष्ट्रको भिडन्तमा पहिलो गोलले खेलको स्वभाविक लय परिवर्तन गर्न सक्छ ।