घानाविरुद्ध उरुग्वे

घानालाई उरुग्वेसँग बदला लिने अवसर

दोहा । घाना र उरुग्वे १२ वर्षपछि विश्वकपमा आमने सामने हुँदा त्यसले सन् २०१० को विश्वकप क्वार्टरफाइनलकोे झल्को दिनेछ । 

लुइस स्वजारेजले खेलको अन्तिम समयमा घानाका खेलाडीको प्रहार गोलपोस्टमा नियतवश हातले रोकेका थिए । घानाले पेनाल्टीको अवसर त पायो, तर त्यसलाई सदुपयोग भने गर्न सकेन । जियानले पेनाल्टीको अवसरको सदुपयोग गर्न सकेनन् । पेनाल्टी सुटआउटमा घानाले उरुग्वेलाई नतिजा सुम्पियो । घाना आफ्नो फुटबल इतिहासकै सबैभन्दा ठूलो सफलताको संघारमा पुगेर पनि असफल भयो ।

कतार विश्वकप २०२२ मा घानालाई उरुग्वेसँग सो हारको बदला लिने अवसर जुरेको छ । समूह एच बाट पोर्चुगल दुई खेलमा ६ अंकसहित यसअघि नै अन्तिम १६ मा प्रवेश गरिसकेको छ । तीन अंक जोडेको घाना दोस्रो स्थानमा छ भने उरुग्वे र दक्षिण कोरियाको समान एक अंक छ । 

घानासँगको बराबरीले उरुग्वेको कतार यात्रा समूह चरणमा सीमित हुनेछ । त्यसैले उरुग्वे  घानामाथि जित्नै पर्ने दबाब छ । यता उरुग्वेसँग बराबरीमा रोकिए पनि समूह एच कै अर्को खेलमा पोर्चुगलले दक्षिण कोरियालाई हराएमा वा अंक बाँडेमा घानाका लागि अघिल्लो चरण प्रवेशका लागि पर्याप्त हुनेछ ।

पहिलो खेलमा पोर्चुगललाई ३–२ को नतिजा सुम्पिएको घानाले दक्षिण कोरियामाथि ३–२ को जितपछि अन्तिम १६ प्रवेशको सम्भावना जीवित राखेको थियो । जुन घानाले सन् २०१० पछि विश्वकपमा निकालेको पहिलो जित थियो ।

उरुग्वेले जारी विश्वकपमा गोल खाता खोल्न सकेको छैन । पहिलो खेलमा दक्षिण कोरियासँग् गोलरहित बराबरीमा रोकिएको उरुग्वे दोस्रो खेलमा पोर्चुगलसँग् २–० ले पराजित भएको थियो ।