नेपाल

विनोदको अर्धशतकमा नेपालको जित

काठमाडौं । विकेटकिपर ब्याटर विनोद भण्डारीको अर्धशतकप्रेरित नेपालले शुक्रबार पहिलो अभ्यास खेलमा क्यानडाको ओन्टारियो क्रिकेट क्लबमाथि ६९ रनको जित निकालेको छ । 

नेपालले प्रस्तुत गरेको दुई सय २१ रनको लक्ष्य पछ्याएको ओन्टारियो ४२.५ ओभरमा मात्र एक सय ५१ रनमा सीमित भयो ।

ओन्टारियोका लागि रिजाजखान पठानले ३६,कप्तान नरेश बुढाएरले २९ र निकोलस मनोहरले २५ रनको योगदान गरे ।

नेपालका लागि पवन सरार्फले तीन तथा दिपेन्द्रसिंह ऐरी, आरिफ शेख र किशोर महतोले समान दुई विकेट लिए ।

यसअघि टस जितेर ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाउँदै दुई सय २० रनको योगफल तयार पारेको थियो ।

नेपालका लागि विनोदले ५९ बलमा आठ चौकाको मद्दतमा ५७ रनको योगदान गरे भने ओपनर आसिफ शेखले ७५ बलमा ४ चौका मद्दतमा ४२ रन जोडे । त्यस्तै देव खनालले २७ रन जोडे ।

नेपालले सोमबार क्यानडाविरुद्ध पहिलो एक दिवसीय खेल खेल्नेछ भने मंगलबार दोस्रो एक दिवसीय खेल खेल्नेछ ।

नेपाल क्यानडाबाटै विश्वकप त्रिकेट लिग टु अन्तर्गतको शृंखलाका लागि स्कटल्यान्ड प्रस्थान गर्नेछ । त्रिकोणात्मक शृंखलामा नेपालले स्कटल्यान्ड र नामिबियासँग समान दुई खेल खेल्नेछ । 

नेपाल जितसहित विश्वकप त्रिकेट लिग टु अंकतालिकामा स्थान सुधार गर्ने लक्ष्यमा रहेको छ ।