राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगिता

राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते सुरु

काठमाडौं । मदन भण्डारी स्पोर्ट्स एकेडेमीअन्तर्गत केन्द्रिय फुल कन्ट्याक्ट विभागको आयोजनामा राष्ट्रव्यापी खेलकुदअन्तर्गत राष्ट्रव्यापी फुल कन्ट्याक्ट कराते प्रतियोगिता शुक्रबारदेखि त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सुरु भएको छ ।

प्रतियोगिताको राखेपका सदस्यसचिव टंकलाल घिसिङले एक कार्यक्रमबीच उद्घाटन गरे । सो अवसरमा एकेडेमीका अध्यक्ष ध्रुव आचार्यलगायतको उपस्थिति थियो । 

प्रतियोगितामा एक सय ५० खेलाडीको सहभागिता रहेको प्रतियोगिता संयोजक सन्जु महर्जनले जनाएकी छन् । ७१औं मदन जयन्तीका अवसरमा हुन लागेको प्रतियोगितामा पुरुषमा दुई र महिलामा एक गरी तीन स्पर्धामा भिडन्त भइरहेको छ । पुरुष/महिला खुला र पुरुष ५५ केजीमुनि खेल भइरहेको छ । प्रत्येक तौलसमूहमा प्रिक्वार्टरफाइनल खेल सम्पन्न भयो ।

खुलाका विजेताले जनही ५० हजार र बाँकी एक तौलसमूहमा पहिलो हुनेले २५ हजार नगद पुरस्कार पाउने छन् ।