विम्बल्डन

जोकोभिच अन्तिम १६ मा

लन्डन । साबिकका विजेता नोभाक जोकोभिचले विम्बल्डनको प्रत्येक चरणमा आफ्नो खेल सुधार गर्दै लगेको संकेत गरेका छन् ।

जोकोभिचले शुक्रबार तेस्रो चरणमा सर्बियाकै मियोमिर किचमानोभिचमाथि ६-०,६-३,६-४ को सहज जित निकाल्दै चौथो चरणमा स्थान पक्का गरे ।

२० पल्टका ग्रान्ड स्लाम विजेता जोकोभिचले चौथो चरणमा डच खेलाडी टिम भान रिज्थोवेनको सामना गर्नेछन् ।

 जोकोभिचसँगै रोजर फेडेररको नामम पनि २० ग्रान्ड स्लाम छ । राफेल नाडालको नाममा  २२ औं ग्रान्ड स्लामको कीर्तिमान रहेको छ ।

‘मैले खेलको सुरुआतबाटै राम्रो प्रदर्शन गर्दै मियोमिरमाथि  दबाब कायम राखे’, जोकोभिचले भने, ‘प्रत्येक चरणमा मेरो खेल सुधार हुँदै गएको छ । यो मेरा लागि सकारात्मक  हो । म अझ राम्रो प्रदर्शन गर्न सक्छु भन्नेमा विश्वस्त छु । म आगामी चुनौतीको सामना गर्न  तयार छु ।’