क्रिकेट मैदान

दुई जिल्लामा क्रिकेट मैदान निर्माण गर्ने गण्डकी प्रदेशको घोषणा

फाइल फोटो

पोखरा । गण्डकी प्रदेश सरकारले प्रदेशका दुई जिल्लामा प्रादेशिकस्तरीय क्रिकेट मैदान निर्माण गर्ने घोषणा गरेको छ ।

गण्डकी प्रदेश सरकारको मन्त्री परिषद्को चैत्र ९ गते बसेको बैठकले उक्त निर्णय गरेको हो । बैठकले नवलपुरको कावासोती नगरपालिका वडा नं २ नवदुर्गा  र तनहुँ शुक्लागण्डकी वडा नं ८ गाउँफर्कोदय माविको खेल मैदानलाई प्रदेशस्तरीय क्रिकेट मैदानका रूपमा स्तरोन्नति र्ने निर्णय गरेको प्रदेश खेलकुद परिषद्का सदस्य सचिव श्रीधर शर्माले जानकारी दिए।

प्रादेशिकस्तरीय क्रिकेट रंगशाला र एक अन्तर्राष्ट्रियस्तरको क्रिकेट रंगशाला निर्माण प्रक्रिया अघि बढाउन परिषद्ले जिल्लाका विभिन्न ६ स्थानका लागि प्रदेश सरकारलाई सिफारिश गरेको बताउँदै सदस्य सचिव शर्माले भने,‘हामीले समिति नै गठन गरेर अध्ययन गरेका थियौं । सोही अध्ययनको आधारमा सरकारले दुई स्थानमा प्रदेशस्तरीय रंगशाला निर्माण हुने गरी मन्त्रीपरिषदले निर्णय गरेको छ । ’

प्रादेशिकस्तरीय क्रिकेट रंगशाला निर्माणका लागि एक रंगशालाबाट अर्को रंगशालाको दुरी कम्तिमा ४० किमि भित्र हुुनुपर्ने प्रावधान अनुसार नवलपुरको कावासोतीस्थित नवदुर्गा खेल मैदान नेपालकै गौरवको अन्तर्राष्ट्रिय गौतमवुद्ध क्रिकेट रंगशालाबाट ४० किमि भित्र पर्ने भएकोले पनि उक्त स्थानमा प्रादेशिक क्रिकेट रंगशाला उपयूक्त हुने गरी मन्त्री परिषदले निर्णय गरेको सदस्य सचिव शर्माले बताए ।

त्यसै गरी शुक्लागण्डकीको गाउँफर्कोदय मावीको खेल मैदान पिन पोखरा क्रिकेट रंगशालाबाट ४० किमि भित्रै पर्ने भएकोले उक्त स्थान समेत क्रिकेट मैदान निर्माणका लागि मन्त्री परिषदले निर्णय गरेको सदस्य सचिव शर्माले जानकारी दिए ।

प्रदेश सरकारले क्रिकेट मैदान निर्माणका लागि यो वर्ष ४० लाख रुपैयाँ  विनियोजन गरिएकाे जनाएको छ ।

‘यी दुवै स्थान प्रादेशिक क्रिकेटका लागि उपयूक्त छन्’, सदस्य सचिव शर्माले भने, ‘कावासोतीका लागि त्यहाँको नगरपालिकाले २०० रोपनी तथा शुक्लागण्डकीको लागि गाउँफर्कोदय माविको स्वामित्वमा रहेको करिव १७३ रोपनी जग्गा उपलब्ध गराएको छ ।’