टाइगर कप भलिबल प्रतियोगिता

टाइगर कप भलिबलको खेल तालिका सार्वजनिक

टाइगर कपको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलन

काठमाडौं ।  टाइगर ग्रुप अफ पोखराको आयोजनामा हुने टाइगर कप भलिबल प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । आयोजकले आइतबार निकालेको खेल तालिका अनुसार प्रतियोगिताको समूह चरणमा हरेक दिन चार खेल हुनेछन् ।

आइतबार महिलातर्फको उद्घाटन खेलमा दुई विभागीय टोली नेपाल एपिएफ र नेपाल पुलिस क्लब भिड्ने छन् । यो खेल बिहान ८ः३० बजे सुरु हुनेछ । बिहान १०ः३० बजे हुने दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले  चन्द्रगिरी नगरपालिका न्यु डायमन्ड स्पोर्टस क्लबको सामना गर्नेछ ।

यसैगरी दिउँसो १२ः३० बजे सुरु हुने पुरुष तर्फको पहिलो खेलमा एपिएफ र पुलिस क्लब आमने सामने हुनेछन् । यसैगरी दिउँसो २ः३० सुरु हुने खेलमा आर्मी र रघरेलु टोली गण्डकी प्रदेश भिड्नेछन् ।

माघ १ देखि ६ गते सम्म पोखरा रंगशालाको कोर्टमा हुने प्रतियोगिताको चौथो संस्करणमा महिला तथा पुरुषतर्फ समान ६ टोलीको सहभागिता छ । सहभागी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ ।

विजेताले पाउने ट्रफी

प्रत्येक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।  महिलार्फ समूह ‘ए’ मा एपिफ, गण्डकी र पुलिस तथा समुह ‘बी’ मा अर्मी, न्यु डायमन्ड र हरियाणा टिम इन्डिया ( भारत) छन् ।

यसैगरी पुरुषतर्फ समूह‘ए’ मा गण्डकी, आर्मी र  हेल्प नेपाल स्पोर्टस क्लब तथा समूह ‘बी’ मा एपिएफ, पुलिस र  श्रीलंका आर्मी क्लब ( श्रीलंका)  छन् ।

दुवैतर्फको विजेता टोलीले समान ५ लाख ५५ हजार ५ सय ५५, उपविजेताले २ लाख ५५ हजार ५ सय ५५ तथा तेस्रो हुनेले १ लाख २५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्नेछन् ।