नेपाली फुटबल

थ्री स्टारको तीन अंक घटाउन एपिएफले गर्याे एन्फाको पुनरावेदन कमिटीलाई उजुरी

काठमाडौं । विभागीय टोली नेपाल एपिएफ क्लबले सहिद स्मारक ‘ए’ डिभिजन लिग क्लब थ्री स्टारको तीन अंक घटाउन माग गर्दै एन्फाको पुनरावेदन कमिटीमा उजुरी हालेको छ ।

एपिएफले आइतबार अखिल नेपाल फुटबल संघ एन्फाको पुनरावेदन समितिलाई पत्र लेख्दै फिफा र एएफसीको नियमानुसार दोषी थ्री स्टारको अंक घटाउन माग गरेको हो ।

पुस १५ गते एन्फाले थ्री स्टार दोषी भएको भन्दै कारबाही स्वरुप जरिवाना गरेको थियो । एन्फाले पुस १९ गते एपिएफलाई जानकारी गराएको थियो । एन्फाले क्लबलाई तीन लाख तथा विदेशी नाइजेरियन खेलाडीद्वय मार्टिन कयोडे अजयी र पिटर सेगुनलाई जनही ५० हजार जरिवाना गरेको थियो ।

यसअघि २०७९/०८० को लिगमा थ्री स्टारले जावलाखेलविरुद्ध भिसा अवधीसकिएको खेलाडी खेलाएको एपिएफको आरोप छ ।

‘थ्री स्टार क्लबले शहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता नियमावली, २०७९० को नियम ७ को उपनियम ३ विपरित हुने गरी मार्टिन र पिटरलाई श्रम स्वीकृती भएता पनि भिषा नभएको अवस्थामा खेलमा सहभागी गराएकोले उक्त क्लब र खेलाडीहरुलाई ‘फिफा अनुशासन कोड २०२३’ साथै ‘एएफसी अनुशासन तथा नैतिकता कोड २०१९’ बमोजिम कारवाही गराई पाउ भनी यस क्लबबाट उजुरी भएकोमा उपरोक्त सम्बन्ध पत्रद्वारा नेपालको अध्यागमन ऐन, २०४९ को दफा ३ (१), ऐ नियमावली २०५१ को नियम (१) झ र नियम २० साथै अखिल नेपाल फुटबल संघको विधान २०७७ संस्करण तथा सोही विधानको अधिनमा बनेको ‘शहिद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिता नियमावली २०७९’अनुसार दोषी ठहर गर्दै संघको अनुशासन समितिले कानून बमोजिम अयोग्य दुवै बिदेशी खेलाडीहरु र थ्री स्टार क्लबलाई नगद मात्र जरिवाना गराईएको पाईएको छ,’ क्लबले पत्रमा भनेको छ ।

जावालखेल र थ्री स्टार प्रतिस्पर्धा गर्दै

जेठ २८ गते भएको जावलाखेलसँगको त्यो खेलमा बराबरी नतिजा निस्किएको थियो । सोही नतिजाका कारण थ्री स्टारको शीर्ष डिभिजन हैसियत जोगिएको थियो भने एपिएफ रेलिगेसनमा परेको थियो । एपिएफको माग अनुसार उक्त खेलमा थ्री स्टारलाई पराजित गर्ने हो भने विभागीय टोलीको शीर्ष डिभिजन हैसियत जोगिन्छ ।

‘फिफा अनुशासन कोड २०२३ संस्करणको १९ औं बुँदाको नं. १ र २ बमोजिम र २८ औं बुँदाको नं. १ बमोजिम साथै ‘एएफसी अनुशासन तथा नैतिकता कोड २०१९’  को बुँदा ५६ को १, २ र ३ बमोजिम प्रतियोगितामा खेलाईएको उक्त खेललाई नै रद्द गराई दोषी टिमले प्राप्त गरेको अंक घटाउनु पर्नेमा सो नगरि जरिवाना मात्र गरिएकोले यस क्लबलाई गम्भिर मर्का पर्न गएको हुँदा पूर्ण रुपमा नियमको पालना गरिदिन हुन अपिल गर्दछौ,’ अपिल पत्रमा भनिएको छ, ‘साथै शहिद स्मारक ए डिभिजन लिगको बिद्यमान नतिजा समेत संशोधन गरी शहिद स्मारक जस्तो नेपालकै एकमात्र प्रतिष्ठित र गरिमामय लीग प्रतियोगितामा खेलप्रेमी महानुभावहरु तथा दर्शकहरुको पनि गम्भिर चासो र सरोकार रहने हुँदा सम्बन्धित सम्पूर्णका लागि उक्त संशोधित नतिजा पुनः प्रकाशन गरिदिन हुन निर्देशानुसार अपिल तथा अनुरोध गर्दछौ ।’

एपिएफले पटक पटक यसै सम्बन्धमा पत्रचार भएको र चाडै कारबाही गर्न अनुरोध गरेको छ । ‘यस क्लबबाट बिगतमा पनि पटक-पटक पत्राचारहरु भईसकेका छन् । विद्यमान राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानून र प्रतियोगिता सञ्चालन सम्बन्धी नियमावलीको मर्म बिपरित खेलाईएको उक्त खेलमा अखिल नेपाल फुटवल संघबाट उक्त क्लब तथा खेलाडीलाई जरिवाना मात्र गरिएको भन्ने जानकारी पत्र प्राप्त भएको हुँदा फिफा र एएफसीमा उल्लेख भए बमोजिमको अनुरुपको कारवाही नभएका कारण ए डिभिजनको श्रेणीमा यस एपिएफ फुटबल क्लबलाई गम्भिर मर्का पर्न गएको हुँदा सो सम्बन्धमा नियमानुसार यथोचित सम्बोधन गरि सो को जानकारी यथासक्य चाँडो दिन हुन समेत अपिल गर्दछौं ।’

याे पनि

एपिएफको उजुरीमा एन्फाद्वारा थ्री स्टार दोषी ठहर