एएफसी एसिया कप

एएफसी एसिया कपः जापानको विजयी सुरुआत

काठमाडौं । भियतनाममाथि ४-२ को जित निकाल्दै उपाधि दावेदार जापानले एएफसी एसिया कपमा आइतबार विजयी सुरुआत गरेको छ ।

कतारको अल थुमाम रंगशालामा जापानलाई जित दिलाउन ताकुमी मिनामिनोले दुई तथा केइटो नाकामुरा र आयसे युडाले समान एक गोल गरे । भियतनामका लागि एनगुएन बाच र फम हाइले समान एक गोल फर्काए ।

जितसँगै समूह ‘डी’ मा जापानले तीन अंक जोड्दा भियतनामले हारबाट प्रतियोगिताको सुरुआत गरेको छ ।

खेलको ११ औं मिनेटमा मिनामिनो गोलमार्फत जापानले अग्रता लिएको थियो । जापानको अग्रता लामो समयसम्म टिक्न भने सकेन । पाँच मिनेटपछि नै बाचले भियतनामलाई बराबरीमा ल्याए ।

३३ औं मिनेटमा हाइले गोल गर्दा भियतनाम २-१ ले अगाडि बढ्यो । ४५ औं मिनेटमा मिनामिनोले ब्यक्तिगत दोस्रो गोल गर्दा जापान २-२ को बराबरीमा आयो ।

पहिलो हाफको इन्जुरी समयमा नाकामुराले जापानलाई ३-२ ले अगाडि बढाए । ८५ औं मिनेटमा युडाले गोल गर्दै जापानलाई ४-२ को जित दिलाए ।