राष्ट्रिय भलिबल प्रतियोगिता

राष्ट्रिय भलिबल प्रतियोगिताः रविन सर्वोकृष्ट खेलाडी

तस्बिरः रविनको फेसबुकबाट

काठमाडौं । नेपाल पुलिस क्लबका रविन चन्द ३४ औं पुरुष राष्ट्रिय भलिबल प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् ।

पुलिसलाई च्याम्पियन बनाउन रविनले सानदार प्रदर्शन गरेका थिए । सर्वोत्कृष्ट खेलाडी घोषित भएसँगै रविनले ट्रफीसँगै १० हजार रुपैयाँ प्राप्त गरे । यस्तै उनलाई लक्ष्मी नारायण मेमोरियल ट्रष्टले १२ हजार, नेपाल भलिबल संघ सुर्खेतका वरिष्ठ उपाध्यक्षले १० हजार र हङकङमा रहेका मोहन बाकमलले ५ हजार रुपैयाँ प्रदान गरे ।

पुलिसकै पहल गहतराज उदीयमान खेलाडी, कप्तान इम राना सेटर, रविन नगरकोटी ब्लकर, भीम गाहा लिवेरो र चन्द्र कुँवर उत्कृष्ट प्रशिक्षक चुनिए । एपिएफका हेमन्त मल्ल स्पाइकर र गण्डकीका जीवन सुनार उत्कृष्ट सर्भर चुनिए । उनीहरुले समान ५ हजार रुपैयाँसहित ट्रफी हात प्राप्त गरे ।

सुर्खेतस्थित विरेन्द्रनगरमा रहेको खुल्लामञ्चको कोर्टमा बिहीबार भएको फाइनलमा साविक विजेता नेपाल एपिएफ क्लबलाई ३-१ को सेटमा पराजित गर्दै पुलिस च्याम्पियन बनेको थियो ।