काभा च्यालेन्ज कप

काभा च्यालेन्ज कपः श्रीलंकाको सामना गर्दै नेपाल

काठमाडौं । सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) पुरुष च्यालेन्ज कपको दोस्रो खेलमा नेपालले मंगलाबार घरेलु टोली श्रीलंकाको सामना गर्दैछ ।  

खेल कोलम्बोस्थित सुगाथादास इन्डोर रंगशालामा ३ः४५ बजे सुरु हुनेछ । दुवै टोली लगातार दोस्रो जितको लक्ष्यमा छन् ।

सोमबार सम्पन्न पहिलो खेलमा नेपालले बंगलादेशलाई ३-१ को सेटमा पराजित गरेको थियो ।

पहिलो सेट २५-२० ले आफ्नो पक्षमा पारेको नेपालले दोस्रो सेट भने १९-२५ ले गुमाएको थियो । त्यसपछिका २ सेट नेपालले २५-२३, २५-२१ ले आफ्नो पक्षमा पार्यो । नेपालले बंगालदेशलाई ५ वर्षपछि हराएको हो ।

श्रीलंकाले भने साउदी अरेबियालाई २५-१९, २५-१७, २६-२४ ले स्तब्ध बनाएको थियो ।

अक्टोबर १५ सम्म हुने प्रतियोगितामा नेपालसहित बंगलादेश, श्रीलंका, अफगानिस्तान, साउदी अरेबिया, उज्वेकिस्तान सहभागी छन् ।