आइसिसी एकदिवसीय विश्वकप

एकदिवसीय विश्वकपः लगातार दोस्रो जितको खोजीमा पाकिस्तान र बंगलादेश

काठमाडौं । भारतमा जारी आइसिसी एकदिवसीय विश्वकपमा मंगलबार आ-आफ्नो खेलका लागि मैदान उत्रिँदा पाकिस्तान र बंगलादेशको लक्ष्य लगातार दोस्रो जित हुनेछ ।

धर्मशालास्थित हिमान्चल प्रदेश क्रिकेट संघको रंशालामा बंगलादेशले साबिक विजेता इङ्ल्यान्डको सामना गर्दैछ । योखेल बिहान १०ः४५ बजे सुरु हुनेछ ।

पहिलो खेलमा अफगानिस्तानविरुद्ध ६ विकेटको जित निकालेको बंगलादेश उच्च मनोबलका साथ मैदान उत्रिनेछ ।

साकिब अल हसनको कप्तानीमा रहेको टोलीमा मेहदी हसन मिराज नजुमल हुसेन, सोरिफुल स्लाम, मुस्फिकर रहिम जस्ता खेलाडी छन्  ।

मिराजले अफगानस्तानविरुद्ध अलराउन्ड प्रदर्शन गरेका थिए । ३ विकेट लिएका उनले ५७ रनको योगदान गरेका थिए ।

यता इङ्ल्यान्ड पनि पहिलो जितको खोजीमा हुनेछ । इङ्ल्यान्डले पहिलो खेलमा न्युजिल्यान्डसँग  ९ विकेटको पराजय व्यहोरेको थियो । 

जोस बट्लरको कप्तानीमा रहेको टोलीलाई जो रुट, जोनी बेयरिस्टो, लिया लिभिङस्टोन, साम करन जस्ता खेलाडीको साथ रहनेछ । रुटले न्युजिल्यान्डविरुद्ध ७७ रन बनाएका थिए । 

एकदिवसीय अन्तर्राष्ट्रियमा हालसम्म यी दुईबीच २४ खेल हुँदा इङ्ल्यान्डले १९ र बंगलादेशले ५ खेल आफ्नो पक्षमा पारेका छन् । यी दुईबीचको पछिल्लो भेटमा बंगलादेश ५० रनले विजयी भएको थियो ।

हैदरावादस्थित राजिव गान्धी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिउँसो २ः१५ मा सुरु हुने हुने खेलमा  पाकिस्तानले श्रीलंकाको सामना गर्दैछ ।

पहिलो खेलमा पाकिस्तानले नेदरल्यान्ड्सविरुद्ध ८१ रनको सहज जित निकालेको थियो । बाबर अजामको कप्तानीमा रहेको टोलीमा हरिस रौफा, शाहिन शाह अफ्रिदी, हसन अली, मोहम्मद रिजवान र साउद सकिल जस्ता खेलाडीको साथ रहनेछ ।

नेदरल्यान्ड्सविरुद्ध रिजवान र सकिलले समान ६८ रन बनाउँदा रौफले ३ विकेट लिएका थिए ।

श्रीलंका पहिलो जितको लक्ष्यमा छ । श्रीलंकाले पहिलो खेलमा दक्षिण अफ्रिकाविरुद्ध १ सय २ रनको हार व्यहोरेको थियो ।

दासुन शनाकाको कप्तानीमा रहेको टोलीलाई कुशल मेन्डिस, चरिथा अस्लंका, दिलसन मदुशन्का, मथिशा पाथिरानजस्ता खेलाडीको साथ रहनेछ ।

दक्षिण अफ्रिकाविरुद्ध अस्लंकाले ७९, मेन्डिसले ७६ र शनाकाले ६८ रन बनाएका थिए ।

यी दुईबीच हालसम्म १ सय ५६ एकदिवसीय अन्तर्राष्ट्रिय खेल हुँदा पाकिस्तानले ९२ र श्रीलंकाले ५९ जित निकालेका छन् ।  यसैगरी ४ खेल विना नतिजा टुङ्गिदा १ खेल टाइ भएको छ । यी दुईबीचको पछिल्लो भेटमा श्रीलंका २ विकेटले विजयी भएको थियो ।