एनएसएल

काठमाडौंको प्रशिक्षकमा महर्जनकै निरन्तरता

काठमाडौं ।  साबिक विजेता काठमाडौं रेजर्स फुटबल क्लबले नेपाल सुपरल लिग ( एनएसएल) का लागि मुख्य प्रशिक्षकमा बालगोपाल महर्जनलाई नै निरन्तरता दिएको छ ।

क्लबले मंगलबार विज्ञप्तिमार्फत प्रशिक्षकमा महर्जनलाई नियुक्त गरिएको जनाएको हो । काठमाडौंको मार्की खेलाडीको रूपमा युवा फरवार्ड हिसुब थपलिया छन् ।

गत संस्करण काठमाडौंलाई च्याम्पियन बनाएका महर्जन लिग विजेता प्रशिक्षक पनि हुन् । उनलेको प्रशिक्षणमा चर्च ब्वाइज युनाइटेड डेब्यू सिजनमै सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन बनेको थियो ।

महर्जनले भर्खरै चीनको हाङझाउमा सम्पन्न १९ औं एसियाली खेलकुदमा नेपाली राष्ट्रिय महिला टोलीको प्रशिक्षण सम्हालेका थिए ।

गत सिजन खेलेको विराटनगर सिटी एफसीले नाम फिर्ता लिएपछि यसपटक ९ टोलीले दोस्रो संस्करण खेल्नेछन् । मंसिर ८ गतेबाट सुरु हुने प्रतियोगिताको उद्घाटन खेलमा काठमाडौंले स्पोर्टिङ इलामको सामना गर्नेछ ।

फाइनल खेल पुष १४ मा हुने तालिका छ । पहिलो संस्करणका साबिक विजेता काठमाडौं, उपविजेता धनगढी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, ललितपुर सिटी एफसी, बुटबल लुम्बिनी एफसीसँगै नयाँ टोली इलाम एफसी, वीरगञ्ज युनाइटेड एफसी र झापा एफसीले प्रतिस्पर्धा गर्नेछन् ।