काभा महिला भलिबल च्यालेन्ज कप

नेपालले पहिलो खेल किर्गिस्तानसँग खेल्ने

काठमाडौं । काभा महिला भलिबल च्यालेन्ज कपमा आयोजक नेपालले पहिलो खेलमा किर्गिस्तानको समान गर्ने भएकाे छ ।

बिहिबार सार्वजनिक भएको खेल तालिका अनुसार नेपालले पोल ‘ए’ अन्तर्गत जेठ ६ मा हुने खेलमा किर्गिस्तानकाे सामना गर्नेछ । नेपाल र किर्गिस्तानबीचको खेल दिउँसाे ४ः३० बजे सुरु हुनेछ । 

सोहि दिन हुने उद्घाटन खेलमा पोल ‘बी’ का उज्वेकिस्तान र श्रीलंका भिड्ने छन् । यो खेल बिहान ९ः ३० बजे सुरु हुनेछ । यसैगरी दिउसो १२ बजे हुने खेलमा पोल ‘ए’ का भारत बंगलादेश आमने सामने हुनेछन् ।

साँझ सात बजे सुरु हुने दिनको अन्तिम खेलमा पोल ‘बी’ का माल्दिभ्स र काजकिस्तान प्रतिस्पर्धा गर्नेछन् । 

प्रतियोगिताको पोल ‘ए’ मा नेपाल र भारतसहित किर्गिस्तान र बंगलादेशतथा पोल ‘बी’ मा श्रीलंका,माल्दिभ्स, काजकिस्तान र उज्वेकिस्तान छन् ।

प्रतियोगिता जेठ ६ गते १५ गतेसम्म त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा हुनेछ ।

नेपाल एभिसी सेन्ट्रल जोन भलिबलको दुई पटकको विजेता हो। बंगलादेशमा भएको दुवै संस्करणमा नेपालले स्वर्ण पदक जितेको थियो ।