वर्ष २०७९

एथलेटिक्सः एसियालीस्तरमा स्वर्ण जितेको वर्ष

काठमाडौं । फागुनको अन्त्यमा हिउँदेयामले बिदा लिँदै गर्दा गोकर्ण फरेस्ट रिसोर्ट एसियालीस्तरको क्रसकन्ट्री च्याम्पियनसिपका लागि व्यस्त थियो । नेपाली एथलेटिक्स इतिहासमा दोस्रोपल्ट हुन लागेको उक्त च्याम्पियनसिप सफल पार्न आयोजकको हैसियतमा नेपाल एथलेटिक्स संघमाथि ठूलै दायित्व थियो ।

गोकर्ण फरेस्ट रिसोर्ट, कागेश्वरी मनोहरा नगरपालिका र राष्ट्रिय खेलकुद परिषद्को साथ रहँदा एथलेटिक्स संघलाई एसियाली एथलेटिक्स महासंघको कार्यक्रमअनुसार प्रतियोगिता सफल पार्न खासै ठूलो चुनौती थिएन । तर, घरेलु भूमिमा हुन लागेको एसियालीस्तरको प्रतियोगिता भव्यता आयोजना गरेर मात्र त्यो सफल भएको मानिँदैनथ्यो ।

प्रतियोगिता सफल हुन नेपाली खेलाडीले पनि पदक जित्नुपर्थ्यो । दक्षिण एसियाली घेराभित्र संघर्ष गर्दै आएका नेपाली खेलाडीले एसियाली स्तरको आधिकारिक प्रतियोगितामा पदक जित्नु चानचुने कुरा थिएन । यो वास्तवमै नेपाली खेलकुद, अझ विशेष गरी नेपाली एथलेटिक्सका लागि ठूलो चुनौती हो ।

तर, फागुन २३ गते गोकर्णमा नेपाली खेलाडीले त्यो ठूलो चुनौतीलाई बहादुरीपूर्वक पार लगाए । ११ एसियाली मुलुकका ६५ खेलाडीले सहभागिता जनाएको १६औं एसियन क्रसकन्ट्री च्याम्पियनसिपमा नेपालले २ स्वर्ण, ४ रजत र २ कांस्य पदक जित्यो ।

नेपालका लागि व्यक्तिगत दीपक अधिकारीले पुरुष १० हजार मिटर दौडमा स्वर्ण र महिला १० हजार मिटरमा राजपुरा पछाईले रजत पदक जितेका थिए । दीपकले जापानी धावक दाइची कामिनोलाई हराएर स्वर्ण जितेका थिए । टिमतर्फ दीपकसहित मुकेश पाल र दीपक सुहाङसम्मिलित टिमले १० किमिमै स्वर्ण जितेको थियो । राजपुरा, पुष्पा र विन्द्राधन्के श्रेष्ठको महिला टिमले १० किमिमा रजत जितेको थियो । त्यसबाहेक दीपकले व्यक्तिगतमा स्वर्ण जित्दा मुकेशले कांस्य जितेका थिए । 

महिला ६ किमि टिमतर्फ राममाया बुढा, राज्यलक्ष्मी रावल र विमला कार्कीले रजत दिलाएका थिए । सोही दुरीमा राममायाले व्यक्तिगत रजत जितेकी हुन् ।  पुरुष ८ किमिमा नेपाली टिमले कांस्य जितेको थियो । शेरबहादुर अधिकारी, सञ्जय धमाल र विकास घिमिरेको टिमले कांस्य जितेका हुन् । प्रतियोगितामा नेपालसहित बंगलादेश, चाइनिज ताइपेई, हङकङ, भारत, इरान, जापान, काजकिस्तान, माल्दिभ्स, पाकिस्तान र थाइल्यान्डका खेलाडीको सहभागिता थियो । त्यसमा सबैभन्दा धेरै नेपालबाट १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए ।

एसियन क्रसकन्ट्री प्रतियोगिताको नतिजाले बितेको वर्ष नेपाली एथलेटिक्सका लागि सुखद बनायो । त्यतिमात्र नभई यही वर्ष विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता दौरान विभिन्न विधामा नयाँ राष्ट्रिय कीर्तिमानहरू पनि बने । जुन एथलेटिक्सको विकासक्रममा निकै महत्त्वपूर्ण मानिन्छ ।

घरेलु प्रतियोगिताको व्यस्त क्यालेन्डरसँगै अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि नेपाली खेलाडीको उल्लेख्य सहभागिता हुनु उसै उत्साहजनक पक्ष थियो । अझ लामो समयसम्म नेपाली एथलेटिक्सलाई ट्र्याकमा नेतृत्व गर्ने सामर्थ्य प्रमाणित गरिसकेकी धाविका सन्तोषी श्रेष्ठले ग्लोबल स्पोर्टस कम्युनिकेसनको छात्रवृत्तिमा इथियोपियामा प्रशिक्षणको अवसर प्राप्त गर्नु थप खुसीको विषय बन्यो ।

थुप्रै अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपाली खेलाडीको उपस्थिति हुनु जति सुखद थियो, त्यति नै घरेलु प्रतियोगिताहरूको आयोजनाले पनि एथलेटिक्सवृत्तलाई आशावादी बनायो । समग्रमा बितेको वर्ष सात राष्ट्रियस्तरका घरेलु प्रतियोगिता भएका थिए ।

कान्तिपुर हाफ म्याराथन

जेठ २१ मा भएको कान्तिपुर हाफ म्याराथनमा पुरुषतर्फ एपिएफका गोपीचन्द्र पार्की र महिलातर्फ नेपाल पुलिस क्लबकी राजपुरा पछाई च्याम्पियन बनेका थिए ।

गोपीले निर्धारित दुरी एक घण्टा ७ मिनेट ४१ सेकेन्डमा पूरा गरे । त्रिभुवन आर्मी क्लबका दीपक अधिकारीले एक घण्टा ७ मिनेट ५० सेकेन्डमा दुरी पूरा गर्दै दोस्रो भए । आर्मीकै मुकेश पाल एक घण्टा ७ मिनेट ५० सेकेन्डबाट तेस्रो भएका थिए ।

महिलातर्फ राजपुराले निर्धारित दुरी एक घण्टा १९ मिनेट १० सेकेन्डमा पूरा गरेकी थिइन्  । एपिएफकी पुष्पा भण्डारी एक घण्टा २२ मिनेट ५ सेकेन्डबाट गर्दै दोस्रो तथा पुलिसकी रेखा विष्ट एक घण्टा ३० मिनेट ५२ सेकेन्डबाट तेस्रो भए ।

राष्ट्रिय एथलेटिक्स प्रतियोगिता

नेपाल एथलेटिक्स संघको आयोजनामा दशरथ रंगशालामा असार १०, ११ र १२ गते भएको ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आर्मी टिम च्याम्पियन बनेको थियो ।

आर्मीले १८ स्वर्ण, १२ रजत र ५ कांस्य पदक जित्यो । एपिएफ क्लब ९ स्वर्ण, ६ रजत र ८ कांस्य पदकका साथ दोस्रो भयो । तेस्रो स्थान ओगटेको वागमती प्रदेशले तीन स्वर्ण, दुई रजत र ६ कांस्य जितेको थियो ।

३२ स्वर्णका लागि भएको प्रतिस्पर्धामा बाँकी दुई स्वर्ण नेपाल पुलिस क्लबले जित्यो । पुलिसले ३ रजत र ४ कांस्य पनि हात पार्यो । सात प्रदेश र तीन विभागीय गरी १० टोली सहभागी प्रतियोगितामा ६ टोली स्वर्णविहीन रहे ।

पुरुषमा एपिएफका शिवराज पार्की र महिलामा च्याम्पियन टोली आर्मीकी जयरानी थारु उत्कृष्ट खेलाडी घोषित भए । शिवराजले तीन स्वर्ण र एक रजत पदक जितेका थिए । जयरानीले दुई कीर्तिमानीसहित चार स्वर्ण पदकमा कब्जा जमाइन् । जयरानीको नाममा थप एक रजत पनि थियो ।

जयरानीले महिला ४ सय मिटर हर्डल्स (बाधा दौड) र एक सय मिटर हर्डल्समा नयाँ कीर्तिमान बनाएकी थिइन् । ४ सय मिटर हर्डल्स उनले एक मिनेट ०७.२ सेकेन्डमा पूरा गर्दै नयाँ राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । छैटौं राष्ट्रिय खेलकुदमा एपिएफकी सविता चौधरीले बनाएको एक मिनेट ०७.७ सेकेन्डको कीर्तिमान जयरानीले भंग गरेकी हुन् ।

जयरानीले १ सय मिटर हर्डल्समा १५.२० सेकेन्डको कीर्तिमान रचेकी थिइन् । उनले प्रमिला थारुको नाममा रहेको १६.३८ सेकेन्डको कीर्तिमान तोडेकी थिइन् ।  

सोही प्रतियोगितामा आर्मीका जीवन थारुले पुरुष एक सय १० मिटर हर्डल्समा १४.९६ सेकेन्डको कीर्तिमान बनाएका थिए । उनले आफ्नै नामको १५.६० सेकेन्डको कीर्तिमानमा सुधार गरे ।

काठमाडौं म्याराथन

भदौ २५ मा भएको काठमाडौं म्याराथनमा आर्मीका हरिकुमार रिमाल च्याम्पियन भए । पुरुषतर्फ हरिले निर्धारित दुरी दुई घण्टा ४० मिनेट ४० सेकेन्डमा पूरा गरेका थिए । आर्मीका जुनेश खड्का दुई घण्टा ४२ मिनेट ५९ सेकेन्डका साथ दोस्रो तथा एपिएफका राजन चौधरी दुई घण्टा ५५ मिनेट ४७ सेकेन्डमा निर्धारित दुरी पूरा गरेर तेस्रो भए ।

काठमाडौं म्याराथनको रुटलाई भदौ २२ मा विश्व एथलेटिक्सको सर्वोच्च निकाय वर्ल्ड एथलेटिक्सअन्तर्गत एसोसिएसन अफ इन्टरनेसनल म्याराथन एन्ड रोड रेस (एम्स)ले अन्तर्राष्ट्रिय मान्यता दिएको थियो ।

यसैगरी हाफ म्याराथनमा पुरुषमा सुवास गुरुङ र महिलामा रेखा विष्ट प्रथम भए ।

नवौं राष्ट्रिय खेलकुद

नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला ज्याभ्लिन थ्रोमा नेपाल पुलिस क्लबकी चन्द्रकला लाम्गादेले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण जितिन् ।

चन्द्रकलाले कात्तिक २ मा ४७.६० मिटरको नयाँ कीर्तिमान कायम गरेकी थिइन् । यसअघि यो कीर्तिमान आर्मीकी लक्ष्मी थारुको नाममा थियो । आठौं राष्ट्रिय खेलकुदमा लक्ष्मीले ४५.२७ मिटर थ्रो गर्दै कीर्तिमान बनाएकी थिइन् ।

एपिएफका सलिम देवानले ७.०६ मिटरको नयाँ राष्ट्रिय कीर्तिमानसहित पुरुष लङजम्पमा स्वर्ण पदक जिते । उनले २३ वर्षअघिको कीर्तिमान तोडेका हुन् । यसअघि कृष्णबहादुर श्रेष्ठले सन् १९९९ मा पाकिस्तानको इस्लामावादमा ७ मिटरको कीर्तिमान बनाएका थिए ।

चार सय मिटर दौडमा दुई नयाँ कीर्तिमान कायम भए । महिला/पुरुष दुवैतर्फ नयाँ कीर्तिमान बनेका थिए । पुरुषतर्फ आर्मीका सोमबहादुर कुमालले ४७.९५ सेकेन्डमा दुरी  पार गर्दै कीर्तिमान स्वर्ण पदक जिते ।

उनले सन् १९९० मा चीनको बेइजिङमा भएको खेलमा आशाराम चौधरीले बनाएको कीर्तिमान भंग गरेका थिए । आशारामले ४८.३२ सेकेन्डको कीर्तिमान राखेका थिए ।

महिलातर्फ एपिएफकी रमिताकुमारी थारूले ५८.१० सेकेन्डको नयाँ कीर्तिमान कायम गरिन् । उनले सन् २०१९ मा चीनमा भएको खेलमा तुलसा खत्रीले बनाएको कीर्तिमान तोडेकी हुन् । तुलसाले ५९.५७ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

आर्मी क्लबकी जयरानी थारुले महिला एक सय मिटर हर्डल्समा नयाँ राष्ट्रिय कीर्तिमान कायम गरिन् । जयरानीले हिट चरणमा आफ्नै नामको १५.२० सेकेन्डको कीर्तिमानमा सुधार गर्दै १५.१६ सेकेन्डको नयाँ कीर्तिमान बनाएकी थिइन् । फाइनलमा भने जयरानीले १५.६९ सेकेन्डसहित स्वर्ण जितिन् ।

यसैगरी जयरानीले ४ सय मिटर महिला हर्डल्समा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी एक मिनेट ०४.१३ सेकेन्डमा पूरा गरेकी थिइन् । जयरानीले ४४औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा आफैले बनाएको एक मिनेट ०७.२ को कीर्तिमान सुधार गरेकी हुन् ।

१० हजार मिटर पुरुष दौडमा आर्मीका दीपक अधिकारीले नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जिते । दीपकले निर्धारित दूरी ३० मिनेट १०.३० सेकेन्डमा पूरा गर्दै ८ वर्ष पुरानो गोपीचन्द्र पार्कीको कीर्तिमान भंग गरेका हुन् । गोपीले सन् २०१४ मा दक्षिण कोरियामा भएको एसियाली खेलकुदमा ३० मिनेट ३०.९९ सेकेन्डको कीर्तिमान बनाएका थिए ।

१०० मिटर दौडमा शिवराज पार्कीले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेका थिए । शिवराजले १०.५६ सेकेन्डको नयाँ कीर्तिमान कायम गरेका हुन् । शिवराजले सन् १९९९ को दक्षिण एसियाली खेलकुदमा रामकृष्ण थारुले कायम गरेको १०.७१ सेकेन्डको कीर्तिमान भंग गरेका थिए ।

महिला एक सय मिटर दौडको हिट चरणमा लुम्बिनी प्रदेशकी निशा चौधरीले १२.१५ सेकेन्डको नयाँ राष्ट्रिय कीर्तिमान बनाइन् । निशाले सन् १९९९ मा भएको आठौं दक्षिण एसियाली खेलकुद (साग)मा देवीमाया पनेरुले बनाएको १२.१९ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् ।

नेपालगन्ज म्याराथन

मंसिर २४ मा भएको नेपालगन्ज म्याराथनको आठौं संस्करणमा विभागीय टोली त्रिभुवन आर्मी क्लबका खडकबहादुर खड्का च्याम्पियन बने ।

खडकले निर्धारित दुरी २ घण्टा २० मिनेट २८ सेकेन्डमा पूरा गरेका थिए । आर्मीकै नरेन्द्र रावत २ घण्टा २२ मिनेट २९ सेकेन्ड तथा मोहनदेव जोशी २ घण्टा २४ मिनेट ३६ सेकेन्डको समय निकाल्दै क्रमशः दोस्रो र तेस्रो भए ।

महिलातर्फ हाफ म्याराथनमा धादिङकी सन्तोषी श्रेष्ठ च्याम्पियन बनिन् । नवौं राष्ट्रिय खेलकुदमा दोहोरो स्वर्ण जितेकी सन्तोषीले निर्धारित दुरी १ घण्टा १६ मिनेट ४१ सेकेन्डमा पूरा गरेकी थिइन् । सन्तोषी सातौं संस्करणकी पनि च्याम्पियन हुन् ।

अञ्जली चौहान एक घण्टा २५ मिनेट १५ सेकेन्डका साथ दोस्रो र अन्जु खड्का एक घण्टा ३६ मिनेट ४४ सेकेन्डबाट तेस्रो भए । नेपालगन्ज म्याराथनको रुटलाई पनि असोज ६ गते नै एम्सले मान्यता प्रदान गरिसकेको थियो ।

पोखरा म्याराथन

साबिक विजेता स्टेफेन कोस्गेइले सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको उपाधि रक्षा गरेका थिए । केन्याली धावक कोस्गेइले फागुन ६ मा सम्पन्न म्याराथनको निर्धारित दुई घण्टा २० मिनेट ०७ सेकेन्डमा पूरा गरे ।

दुई घण्टा २० मिनेट ३७ सेकेन्ड टाइमिङका साथ केन्याकै जुलियस मुरौकी दोस्रो र दुई घण्टा २५ मिनेट १४ सेकेन्डको समय निकाल्दै विभागीय टोली आर्मीका होमलाल श्रेष्ठले तेस्रो स्थान हासिल गरे ।

महिलातर्फ हाफ म्याराथनमा पुलिसकी राजपुरा पछाई च्याम्पियन बनिन् । राजपुराले निर्धारित दुरी एक घण्टा २१ मिनेट ११ सेकेन्डमा पूरा गरेकी थिइन् । एक घण्टा २६ मिनेट २८ सेकेन्डका  साथ एपिएफकी वृन्दाधन्के श्रेष्ठ दोस्रो र एक घण्टा २६ मिनेट ४९ सेकेन्डका साथ आर्मीकी पूर्णलक्ष्मी न्यौपानेले तेस्रो स्थान हासिल गरे ।

वीर गणेशमान १० किमि रोड रेस

पुलिस क्लबकी राजपुरा पछाईंले नयाँ कोर्स रेकर्डसहित चौथो वीर गणेशमान सिंह १० किमि रोड रेसमा स्वर्ण जितेकी थिइन् ।

राजपुराले चैत २१ मा सम्पन्न दौडमा महिलातर्फ स्वर्ण जित्ने क्रममा निर्धारित दुरी ३६ मिनेट ४३.२ सेकेन्डमा पूरा गर्दै नयाँ कोर्स रेकर्ड कायम गरिन् ।

राजपुराले आफ्नै नाममा रहेको ३७ मिनेट १०.५ सेकेन्डको कोर्स रेकर्ड सुधार गरेकी हुन् । त्यतिबेला उनले सन्तोषी श्रेष्ठको नाममा रहेको ३७ मिनेट ५३.५४ सेकेन्डको कोर्स रेकर्ड तोडेकी थिइन् ।

पुलिसकै राममाया बुढा ३७ मिनेट ५४.१५ सेकेन्डका साथ दोस्रो र एपिएफकी पुष्पा भण्डारी ३८ मिनेट २६.०३ सेकेन्डका साथ तेस्रो स्थानमा रहे ।  

पुरुषतर्फ विभागीय टोली आर्मीका मुकेश पालले ३१ मिनेट २१.७६ सेकेन्डबाट स्वर्ण पदक जिते । एपिएफका गोपीचन्द्र पार्की ३१ मिनेट ३८.६८ सेकेन्डको टाइमिङका साथ दोस्रो र आर्मीका दीपक अधिकारी ३१ मिनेट ४७.४२ सेकेन्डबाट दौड पूरा गर्दै तेस्रो स्थानमा रहे ।

शेख मुजिब बंगबन्धु ढाका म्याराथन

आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान सुधार गर्दै नेपालकी पुष्पा भण्डारीले बंगबन्धु शेख मुजिब ढाका म्याराथनमा स्वर्ण पदक जितेकी थिइन् । पुष्पाले माघ ६ मा बंगलादेशको ढाकामा सम्पन्न म्याराथनको दक्षिण एसियाली प्रतिस्पर्धामा २ घण्टा ४८ मिनेट २ सेकेन्डबाट दौड पूरा गरिन् ।

पुष्पाले सन् २०१९ मा नेपालमै भएको १३औं दक्षिण एसियाली खेलकुदमा राखेको दुई घण्टा ५० मिनेट ११ सेकेन्डको आफ्नै नामको राष्ट्रिय कीर्तिमान सुधार गरेकी हुन् । पुष्पाले स्वर्ण जित्दा विन्द्राधन्के श्रेष्ठले पनि कांस्य पदक जितेकी थिइन् । नवौं राष्ट्रिय खेलकुदको म्याराथनमा स्वर्ण जितेकी भेट्रान धाविका विन्द्राले पहिलोपल्ट अन्तर्राष्ट्रिय पदक जितेकी हुन् ।

यसबाहेक वर्ष २०७९ मा एभरेस्ट म्याराथन, गोल्डेन एथलेटिक्स मिट, राइट फर प्रोटिन रेस, मदन भण्डारी ५ किमी रोड रेस, सहारा म्याराथन, लुम्बिनी पिस म्याराथन, पाथिभरा म्याराथनलगायतका प्रतियोगिताहरू पनि भए ।

ढाका म्याराथनको हाफ म्याराथनको दक्षिण एसियालीतर्फ गोपीचन्द्र पार्कीले पनि कांस्य जितेका थिए । भारतीय धावकलाई टक्कर दिए पनि उनी तेस्रो स्थानमै समेटिए ।  

नेपाली खेलाडीले अमेरिकामा भएको विश्व एथलेटिक्स च्याम्पियनसिपलगायत अन्य अन्तर्राष्ट्रिय प्रतियोगितामा पनि सहभागीता जनाएको थियो ।

सन्तोषीलाई छात्रवृत्ति

१३औं दक्षिण एसियाली खेलकुद (साग)की स्वर्ण विजेता धाविका सन्तोषी श्रेष्ठले इथियोपियामा प्रशिक्षण गर्ने अवसर पाएकी छन् ।

एनआरएनए स्पोर्ट्स फाउन्डेसनको पहलमा ग्लोबल स्पोर्टस कम्युनिकेसनको छात्रवृत्तिमा सन्तोषीले इथियोपियामा प्रशिक्षणको अवसर पाएकी हुन् । यो छात्रवृत्ति प्राप्त गर्ने सन्तोषी दक्षिण एसियाकै पहिलो धाविका हुन् ।

सन्तोषीलाई इयर्ली ट्रस्टको आर्थिक सहयोग रहेको थियो । ग्लोबल स्पोर्टस एथलेटिक्स खेलाडीको व्यवस्थापन पक्ष हेर्दै आएको संस्था हो । सन्तोषी फागुन ७ मा इथियोपिया गएकी थिइन् । इथियोपियामा एक महिनाको प्रशिक्षणपछि सन्तोषीले नेदरल्यान्ड्सको भेनलुप हाफ म्याराथनमा सहभागिता जनाएकी थिइन् ।

चैत १२ मा भएको दौडमा सन्तोषी एक घण्टा १६ मिनेट ४४ सेकेन्डको समयसहित नवौं स्थानमा रहिन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा गरेको उत्कृष्ट प्रदर्शनका कारण उनमा अपार सम्भावना देखेर सम्बन्धित निकायले सन्तोषीलाई यो छात्रवृत्ति प्रदान गरेको हो ।