सहिद स्मारक ‘ए’ डिभिजन लिग

अजाइको निर्णायक गोलमा थ्री स्टार विजयी

काठमाडौं । फरवार्ड मार्टिन कायोडे अजाइले दोस्रो हाफमा गरेको गोल निर्णायक बन्दा थ्री स्टारले सहिद स्मारक ‘ए’ डिभिजन लिगमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि १-० को कठिन जित निकालेको छ ।

यससँगै थ्री स्टारले आठ खेलमा चार जित, दुई बराबरी र दुई हारको नतिजासहित १४ अंक जोडेको छ । पराजय ब्यहोरेको पुलिसकाे समान खेलमा एक जित, एक बराबरी र ६ हारको नतिजासहित चार अंक छ । 

सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहिबार सम्पन्न आठौं चरणको खेलमा अजाइले  ६५औं मिनेटमा कप्तान आशोक खवासको पासलाई पेनाल्टी क्षेत्र भित्रबाट फस्ट टचमै पोस्टको दिशा दिएका थिए ।

खेलमा दुवै टोलीले केही अवसरहरु सृजना गरे पनि गोलमा परिणत भने गर्न सकेनन् ।

खेलको ३७ औं मिनेटमा थ्री स्टारका लाकेन लिम्बुको हेडरलाई पुलिसका गोलकिपर सत्रुधन चौधरीले बचाए ।

७४ औं मिनेटमा मोसिसको प्रहारलाई थ्री स्टारका गोलकिपर मोहम्मद ताहाले बचाउँदा पुलिसले बराबरी गर्ने अवसर गुमाएको थियो ।