जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिता

नेपालका राजवीर च्याम्पियन

काठमाडौं । नेपालका राजवीर प्रधान  २० औं जयकर स्मृति एटीएफ यु–१४ टेनिस प्रतियोगिताअन्तर्गत सर्किट–२ को ब्वाइज सिंगल्समा च्याम्पियन भएका छन् ।

सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार सम्पन्न  फाइनलमा राजवीरले हङकङका कि छियोङ मोरिस ताङलाई ६–१ र ६–१ को सोझो सेटमा पराजित गरे । पुस २ मा सम्पन्न प्रतियोगिताको सर्किट– १ मा भने राजवीर परीक्षाका कारण सहभागी थिएनन् । सर्किट– १ मा भारतका भिभान मिर्धाले नेपालका आयुशमान हजुर घलेलाई हराउदै च्याम्पियन बनेका थिए ।

नेपाल टेनिस संघको सहयोगमा मन जयकर टेनिस एकेडेमीद्वारा आयोजित प्रतियोगिताको गर्ल्स सिंगल्सको फाइनलमा भारतकी तनिशा भत्नागरले भारतकै सराह चौधरीलाई सीधा सेटमा ६–३ र ६–४ ले पाखा लगाउदै च्याम्पियन बनिन्।

सर्किट– १ मा भने नेपाली खेलाडीको वर्चस्व थियो । नेपालका शिभाली गुरुङ पहिलो,आद्या पौड्याल दोश्रो तथा प्रशंसा मोक्तान र स्वस्तिका विष्ट तेश्रो भएका थिए । सर्किट– १ कै डबल्समा पनि शिभालीले स्वर्ण हात पारेकी थिइन् ।

शुक्रबार सम्पन्न सर्किट– २ को ब्वाइज डबल्समा हङकङका ताङ र वान हिम दोनोभन यिमको जोडी पहिलो भएका थियो ।  गर्ल्समा नेपालकी प्राज्ना मानन्धर र भारतकी हनी जुमानी गौरवको जोडीले शीर्ष स्थान हात पारेको थियो ।

विजेतालाई नेपाल ओलम्पिक कमिटीका अध्यक्ष समेत रहेको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले एक कार्यक्रमबीच पुरस्कृत गरे । एसियाली टेनिस महासंघको स्वीकृतिमा भएको प्रतियोगिताअन्तर्गत ब्वाइजमा १७ तथा  गर्ल्समा १९ खेलाडीले प्रतिस्पर्धा गरेका थिए । प्रतियोगितामा  नेपालसहित १४ राष्ट्रका खेलाडी सहाभागि थिए । 
 

मन जकयर टेनिस एकेडेमीले पहिलो पटक जुनियर अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गरेको हो । विगतका १९ संस्करण जुनियर राष्ट्रिय प्रतियोगिताका रुपमा आयोजना गरिएको थियो ।