काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप

समूह चरणमा नेपाल जितविहन

ढाका । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपको समूह चरणमा नेपाल जितविहिन बनेको छ । नेपाल शनिबार  सम्पन्न  समूह चरणको  तेस्रो तथा अन्तिम खेलमा किर्गिस्तानसँग ३–२ को सेटमा पराजित भएको हो ।

बंगलादेशको ढाकास्थित सहिद शुरवार्दी नेसनल इन्डोर रंगशालामा निकै रोमाञ्चक बनेको खेलको पहिलो सेट १६–२५ ले गुमाएको नेपालले दोस्रो सेट २५–२३ ले आफ्नो पक्षमा पारेको थियो ।

यसैगरी तेस्रो  सेट १७–२५ ले गुमाएको नेपालले चौथो सेट २५–१९ ले जित्दा खेल पाँचौ तथा अन्तिमा सेटसम्म लम्बिएको थियो । नेपालले पाँचौ तथा अन्तिम सेट ६–१५ ले गुमायो ।

यसअघि नेपाल पहिलो खेलमा घरेलु टोली बंगलादेश तथा दोस्रो खेलमा श्रीलंकासँग समान ३–० को सोझो सेटमा पराजित भएको थियो ।

प्रतियोगितामा किर्गिस्तानको यो दोस्रो जित हो । यसअघि हिलो खेलमा श्रीलंकालाई ३–१ को सेटमा हराएको किर्गिस्तानले दोस्रो खेलमा बंगलादेशसँग ३–१ सेट कै पराजय ब्यहारेको थियो ।

नेपालले सेमिफाइनलमा आइतबार समूह चरणको विजेतासँग प्रतिस्पर्धा गर्नेछ ।

च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागिता छ । प्रतियोगितामा चार टोलीको मात्र सहभागिता भएको हुनाले चारै टोलीले सेमिफाइनलमा स्थान बनाएका हुन् ।