नवौं राष्ट्रिय खेलकुद

आर्मीका दुवै टिम टेनिसको फाइनलमा

पोखरा । नेपाली सेनाको त्रिभुवन आर्मी क्लब र घरेलु गण्डकी प्रदेशको टोलीले नवौं वृहत राष्ट्रिय खेलुकदअन्तर्गत शनिबार टेनिसको पुरुष टिम इभेन्ट्समा कम्तिमा रजत पदक पक्का गरेका छन् ।

शनिबारबाट पोखरा रंगशाला परिसरमा रहेको टेनिस कम्प्लेक्समा सुरु भएको टेनिसको पुरुष टिम इभेन्ट्समा आर्मीले अर्को विभागीय टोली नेपाल प्रहरीलाई २-१ को सेटमा हराउँदै फाइनलमा स्थान पक्का गरेको गर्दा गण्डकी प्र्रदेशले सशस्त्र प्रहरी बलको एपिएफलाई ३-० को सोझो सेटमा हरायो ।

यसैगरी महिला टिम इभेन्ट्समा आर्मी र एपिएफले फाइनलयात्रा तय गरे । महिलामा पनि आर्मीले पुलिसलाई २-१ कै सेटमा निराश पार्दै फाइनल प्रवेश गरेको थियो । यसैगरी एपिएफले पुरुषतर्फ भोगेको निराशामा मल्हम लगाउने क्रममा बागमती प्रदेशलाई ३-० को सेटमा हराएर कम्तिमा रजत पदक पक्का गरेको थियो ।

शनिबारका नतिजापछि आर्मीले टेनिसबाट कम्तिमा दुई रजत पक्का गरेको छ ।