नवौं राष्ट्रिय खेलकुद

प्रोटेस्टको निर्णय नउल्टिए एनआरएनएले नखेल्ने

पोखरा । राष्ट्रिय टिमका खेलाडी खेलाएको भन्दै प्रदेश एकले हालेको प्रोटेस्ट सदर भएपछि गैह्र आवासीय नेपाली संघ (एनआरएनए)को फुटबल टिमले बाँकी प्रतियोगिता नखेल्ने भएको छ ।

एनआरएनएका व्यवस्थापक सन्तोष कार्कीले प्रोटेस्ट लागेका आठ खेलाडी खेलाउन नपाए आफूसँग मैदान उत्रिन समेत टिम नपुग्ने बताए ।

‘आठ खेलाडीले खेल्न पाएनन् भने हामीसँग टिम नै पुग्दैन । १९ खेलाडी मात्र दर्ता गरिएको छ । त्यसमा दुई जना पहिल्यै घाइते छन् । ९ जना खेलाडी लिएर मैदान उत्रिने कुरा हुँदैन । खेल्ने भनेको जित्नका लागि हो । निर्मम तरिकाले हार्ने पक्का भएपछि किन मैदान उत्रिनु,’ उनले भने ।

व्यवस्थापक कार्कीले राष्ट्रिय खेलकुद परिषद (राखेप)ले आफ्ना ६ खेलाडीलाई खेल्न नदिने भन्दै गरेको निर्णय सच्याउने आशामा रहेको बताए । ‘उहाँहरुले आफै पहिला स्वीकृति दिएको खेलाडीलाई खेल्न नपाउने भनेर हामीलाई थाहै नदिई निर्णय गर्न मिल्छ भने फेरि यो निर्णय पनि सच्याएर उनीहरुलाई खेल्न दिन मिल्छ होला । राखेपले खेलाडीलाई यति ठूलो खेल मेलामा सहभागी हुनबाट बञ्चित नगर्ने आशामा छौं । त्यसो भएन भने हामीले खेल्न सक्ने वातावरण हुँदैन,’ उनले अगाडि थपे ।

एनआरएनएले शनिबार साँझ पत्रकार सम्मेलन गर्दै राखेपलाई निर्णय परिवर्तन गरेर आफ्ना खेलाडीलाई खेल्न दिन अनुरोध गरेको थियो ।

नेपाली राष्ट्रिय टिमका नियमित सदस्यहरु विमल घर्तीमगर, अनन्त तामाङ, पुजन उपरकोटी, सुजल श्रेष्ठ, संजोग राई, विशाल राई, निशान खड्का र अशोक खवासमाथि प्रदेश नम्बर एकले प्रोटेस्ट हालेको थियो ।

गत बिहीबार प्रदेश एक विरुद्धको खेलअघि एनआरएनएको टिममा राष्ट्रिय खेलाडी भएको पाएपछि विवाद भएको थियो । जसका कारण डेढ घण्टा ढिलो सुरु हुँदा दुवै हाफ ३५-३५ मिनेटमा घटाइएको खेलमा एनआरएनए २-० ले विजयी भएको थियो । एनआरएनएका लागि विमल र संजोगले एक/एक गोल गरेका थिए ।

सोही खेलअघि प्रदेश नम्बर एकले खेल्न नमानेका कारण ढिलो भएको थियो । तर, अखिल नेपाल फुटबल संघ (एन्फा)का उपाध्यक्ष दावा लामाले खेलपछि प्रोटेस्ट हाल्न सक्ने बताएपछि खेल भएको थियो ।

खेलसकिने बित्तिकै प्रदेश एकले हालेको प्रोटेस्ट नवौं राष्ट्रिय खेलकुदको प्राविधिक उपसमितिले शनिबार सदर गरेको थियो ।

‘एन्फाका साथीहरुसँग छलफल गर्यौं, अस्तिको खेल ३-० हुने रहेछ । त्यही हुन्छ, खेलाडीहरुले बाँकी खेल खेल्न पाउँदैनन्,’ उपसमितिा सचिव हिमाल दाहालले भने ।

यो निर्णयसँगै त्यो खेलको नतिजा उल्टिएर प्रदेश एकको ३-० को जित भएको छ ।

फुटबलमा उपसमितिले गरेको निर्णय नउल्टिए राष्ट्रिय खेलकुदअन्तर्गत बाँकी खेलमा पनि एनआरएनएको उपस्थिति नहुन सक्छ । एनआरएनएले भाग लिएका सबै १९ खेलमा नै नेपालमा बस्ने नेपाली खेलाडी रहेको बताइएको छ । 

जसका कारण फुटबलकै नजिर अन्य खेलमा पनि लागु हुने र एनआरएनए राष्ट्रिय खेलकुदबाट अलग हुन सक्ने राखेपका एक अधिकारीले जानकारी गराए । एनआरएनएले भने निकालिनुभन्दा आफै सबै खेलबाट बाहिरिने विषयमा छलफल गरिरहेको बुझिएको छ ।