नोभाक जोकोभिच

वर्षगाँठमा श्रीमतीलाई जोकोभिचको विम्बल्डन उपहार

लन्डन । सर्बियन टेनिस स्टार नोभाक जोकोभिचले आइतबार राति भएको फाइनलमा निक किर्गियोसलाई पराजित गर्दै करियरको २१औं ग्रान्डस्लामको रुपमा विम्बल्डन जिते, विवाहको आठौं वर्षगाँठमा श्रीमतीलाई विम्बल्डनको उपाधि उपहार दिए । लन्डनमा भएको फाइनलमा किर्गियोसलाई ४–६ ६–३ ६–४ ७–६ को नतिजामा पराजित गर्दै जोकोभिचले लगातार चौथो पटक र समग्रमा सातौं विम्बल्डन जिते ।

पहिलो सेटमा पराजित भएका जोकोभिचले त्यसपछि पुनरागमन गर्दै समग्रमा ३–१ को जितसँगै पुरुष एकलतर्फ सर्वाधिक ग्रान्डस्लाम (२२ पटक) जित्ने राफेल नाडालसँगको दूरी घटाएका छन् ।

जोकोभिचको फाइनल यात्रा

पहिलो चरणमा दक्षिण कोरियाली खेलाडी सुन्वो क्वोनविरुद्ध ६–३ ३–६ ६–३ ६–४ को जित निकाल्दै विश्व नम्बर एक जोकोभिचले उपाधि रक्षा अभियान सुरु गरेका थिए । दोस्रो चरणमा अस्ट्रेलियाका थानसी कोक्किनाकिसलाई ६–१ ६–४ ६–२ को सोझो सेटमा पराजित गर्दै जोकोभिच २१ औं ग्रान्डस्लामको अझै नजिक पुगेका थिए ।

तेस्रो चरण पार गर्ने क्रममा विश्व वरीयताको २५औं स्थानका आफ्नै देशका मियोमिर केकमानोभिचलाई ६–० ६–३ ६–४ को सोझो सेटमा उनले पन्छाउनु परेको थियो । प्रि–क्वार्टरफाइनलमा वाइल्डकार्डबाट विम्बल्डनमा छनोट भएका डच खेलाडी टिम भान रिथाभेनविरुद्ध चार सेट खेल्दै जोकोभिचले ६–२ ४–६ ६–१ ६–२ जितसहित क्वार्टरफाइनल यात्रा तय गरेका थिए ।

विश्व वरीयताको १०औं स्थानका यानिक सिनरसँग भने पहिलो पटक जोकोभिचले यो विम्बल्डनमा पाँच सेट खेल्नु पर्यो । पहिलो र दोस्रो सेट ५–७ २–६ ले गुमाएका जोकोभिच त्यसपछिका तीन सेटमा ६–३ ६–२ ६–२ को जितसहित अन्तिम चारमा पुगेका थिए । नवौं वरीयताका क्यामेरोन नोरीविरुद्ध चार सेटको खेलमा २–६ ६–३ ६–२ ६–४ को जित निकाल्दै जोकोभिचले चौथो आठौं पटक विम्बल्डनको फाइनलमा स्थान बनाएका थिए ।

विजयी टाइ ब्रेकर

६–६ अंकको बराबरीपछि टाइ ब्रेकरमा किर्गियोसले सर्भिसमा डबल फल्ट गरे । जसको अर्थ आफ्नो सर्भिस अगाडि नै जोकोभिचले १–० को अग्रता बनाए । निराश र हतास देखिएका किर्गियोसलाई आफ्नो टिमका सदस्यहरुले आफूहरुभन्दा खेलमा ध्यान दिन सुझाव दिएका थिए ।

जोकोभिचले सर्भ गरेर भलीमार्फत अर्को अंक थपेसँगै टाइ ब्रेकरमा २–० को अग्रता बनाएका थिए । किर्गियोसभन्दा जोकोभिच अगाडि पुगिसकेका थिए । तर, जोकोभिचले एक पटक गल्ती गरेसँगै किर्गियोसले २–१ बनाउने मौका पाए । त्यो उनले लामो समयपछि ल्याएको अंक थियो । त्यसपछि फेरि लामो समय किर्गियोसले अंक ल्याएनन् । र, जोकोभिच ४–१ ले अघि लागिसकेका थिए । किर्गियोसले फेरि एक पटक आफ्नो टिमलाई आरोप लगाए ।

त्यसपछि विनर प्रहार गर्ने कोसिस गरेका किर्गियोसको बल नेटको माथिल्लो भागमा लागेर ‘अन्फोस्र्ड एरर’मा कन्भर्ट भयो । त्यस बेलासम्म जोकोभिच ५–१ ले अगाडि थिए । जोकोभिचले फेरि सर्भ गरे । जोकोभिचको सर्भिसपछि चलेको लामो र्यालीपछि जोकोभिच अंक जित्दै ६–१ को अवस्थामा पुगेका थिए । त्यसको अर्थ त्यो समयमा २० पटकका ग्रान्डस्लाम च्याम्पियन जोकोभिचलाई अर्को एक उपाधि जित्न एक अंक मात्रै आवश्यक थियो । जोकोभिचसँग पाँच च्याम्पियनसिप प्वाइन्ट थियो ।

तर, किर्गियोस सर्भिसमा लगातार दुई अंक ल्याएसँगै अंक दूरी केही घटाएको थियो । तर, जोकोभिचको सर्भिसपछि चलेको लामो र्यालीपछि किर्गियोसले एउटा र यो विम्बल्डनको अन्तिम गल्ती गरे । त्यससँगै पुरुष एकलतर्फको फाइनल सकियो र विश्व नम्बर एक जोकोभिचको कलेक्सनमा २१औं ग्रान्डस्लामको उपाधि थपियो ।