यु १२ टिम टेनिस प्रतियोगिता

ब्वाइज र गर्ल्स दुवैमा भारतको वर्चस्व

काठमाडौं । नेपाल आइटीएफ एसिया यु १२ टिम टेनिस प्रतियोगिता (रिजनल क्वालिफाइङ इभेन्ट साउथ एसिया) मा  भारत पहिलो भएको छ । भारत ब्वाइज/गर्ल्स दुवैमा पहिलो भएको हो ।

शुक्रबार सातदोबाटोस्थित टेनिस कोर्टमा भएको ब्वाइज फाइनलमा भारतले पाकिस्तानलाई २–१ ले पराजित गर्यो । श्रीलंकाले बंगलादेशलाई ३–० ले हराउदै तेश्रो भयो ।

नेपाल टेनिस संघद्वारा आयोजित प्रतियोगिताको गर्ल्स फाइनलमा भारतले श्रीलंकालाई २–१ ले पाखा लगायो । माल्दिभ्सले भुटानलाई ३–० ले पन्छ्याउदै तेश्रो भयो । माल्दिभ्सको प्रशिक्षकमा पूर्व राष्ट्रिय च्याम्पियन नेपालका कुमार अधिकारी रहेका छन् । ब्वाइज/गर्ल्समा पहिलो र दोश्रो हुने राष्ट्र काजाकिस्तानमा हुने फाइनल प्रतियोगितालाई छनोट भइसकेका छन् ।

अन्तिम दिन नेपाली ब्वाइज÷गर्ल्स दुवै टोलीले जित आत्मासात गरे । ब्वाइजमा नेपालले भुटान तथा गर्ल्समा बंगलादेशलाई समान ३–० ले पारजित गरे । दुवै टोली फाइनल चरणलाई छनोट हुन सकेनन् । प्रतियोगिताको पाँचौं संस्करण पूरा हुँदा नेपालको कुनैपनि टोली छनोट हुन नसकेको दोश्रोपटक हो । २०२१ मा पाकिस्तान भएको चौथो संस्करणमा पनि नेपाल छनोट भएको थिएन ।

विजेतालाई नेपाल टेनिस संघकी अध्यक्ष ज्योति राणा, महासचिव मनोहरदास मुल, प्रतियोगिता निर्देशक अजय बिष्ट, आइटीएफ प्रतिनिधि जोनाथन स्तब्सलगायतले एक कार्यक्रमबीच पुरस्कृत गरे । प्रतियोगितामा दक्षिण एसियाका सातै राष्ट्र सहभागी थिए । पाकिस्तान बाहेक सबै राष्ट्रबाट समान ३ ब्वाइज/गर्ल्स खेलाडी सहभागी थिए । पाकिस्तानबाट ३ ब्वाइज खेलाडीले मात्र भाग लिएका थिए ।